मुगुका पाटनमा यार्सागुम्बा संकलन सुरू

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको हिमाली पाटन क्षेत्रमा यार्सागुम्बा संकलन सुरु भएको छ । कोरोना महामारीका कारण चार वर्षदेखि यार्सागुम्बा संकलन कार्य प्रतिबन्द गरिएको भए पनि यो पटक बाट पाटन क्षेत्रमा यार्सा टिप्ने कार्य सुरु गरिएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।

पालिकाले पाटन क्षेत्रमा यार्सागुम्बा संकलनको लागि स्थानीयलाई अनुमति दिएको अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके लगायत पाटन क्षेत्रमा उम्रिने बहुमूल्य यार्सागुम्बा टिप्न जिल्लाभित्र र बाहिरका स्थानीय सातु समाल बोकेर पाटन उक्लिएका छन् ।

जेठ ५ गतेदेखि असार १५ सम्म स्थानीयले पाटन क्षेत्रमा यार्सागुम्बा टिप्न पाउने भएका छन् । पालिकाले यार्सा टिप्न पाटन जाने स्थानीयलाई प्रतिव्यक्ति २ हजार अनुमति प्रवेश शुल्क तोकेको छ ।

पाटन क्षेत्र यार्सा संकलन सुरु भएपछि मुगुम कार्मारोङ गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्म विधार्थीहरु यार्सागुम्बा टिप्न पाटन उक्लिए पछि पठनपाठन प्रभावित भएको छ । यार्सागुम्बा संकलन कार्यले पालिकाभित्र विकास निर्माण समेत ठप्प भएको गाउँपालिकाले जनाएको छ ।

You May Also Like