कर्णालीमा कोरोनाभाइरसको सङ्क्रमण र मृत्युदर किन उच्च?

                         फोटो : बिबिसी

गएको तीन सातामा कोरोनाबाट कर्णालीमा ८५ जनाले ज्यान गुमाएको साथै चार हजार भन्दा बढी सङ्क्रमित भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

पहिलो लहर सकिएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा, विदेशबाट आउनेको ‘स्क्रीनिङ’ नगर्दा, भारतमा दोस्रो लहर आउँदा सजग नहुँदा अहिलेको अवस्था सृजना भएको प्रदेश स्वास्थ्य निर्देशक डा. रवीन खड्का बताउँछन्।

“राजनीतिक दलका सभा, सम्मेलन, जुलुस, खुला सिमाना र लापरबाहीपूर्ण क्रियाकलापले सङ्क्रमण फैलियो”, उनी भन्छन्, “अहिलेकै स्रोत, साधन र जनशक्तिले यसलाई थेग्न गाह्रो छ।”

लक्षण भएका, सङ्क्रमितको नजिकको सम्पर्कमा मा रहेका व्यक्तिको मात्रै स्वाब परीक्षण गर्ने गरिएकोले झन्डै ७० प्रतिशतमा सङ्क्रमण पुष्टि हुने पनि उनले बताए।

सङ्क्रमण र मृत्युदर बढेपछि समुदायमा स्तरमा सङ्क्रमण फैलिसकेको हुन सक्ने आशङ्का गरिएको छ।

पछिल्लो समय कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिममा सङ्क्रमित सङ्ख्या धेरै छ।

सङ्क्रमण फैलिन नदिन कर्णालीका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरे पनि सङ्क्रमित हुने क्रम भने नरोकिएको स्वास्थ्यकर्मी बताउँछन्।

बिरामीको चाप ‘थेग्नै गाह्रो’

सक्रिय सङ्क्रमितमध्ये ३८० जना अस्पतालको आइसोलेशन र ४,३२६ जनाले होम आइसोलेशनमा रहेर उपचार गरिरहेका छन्।

अस्पताल भर्ना भएका अधिकांश सङ्क्रमितको अक्सिजनको सहारामा उपचार भइरहेको स्वास्थ्यकर्मी बताउँछन्।

“लक्षण सहितका सङ्क्रमित दैनिक अस्पताल भर्ना भइरहेका छन्”, प्रदेश अस्पताल सुर्खेतका कोभिड फोकल पर्सन डा. केएन पौडेलले भने।

“बिरामीको चाप यसरी नै बढ्ने हो भने अस्पतालले थेग्नै नसक्ने अवस्था आउन सक्छ।”

karnali testing
 
तस्बिरको क्याप्शन,

प्रदेश अस्पताल सुर्खेतको कोरोनाभाइरस सङ्क्रमित विरामीको उपचार कक्ष

 

उनका अनुसार प्रदेश अस्पतालमा अहिले अति सिकिस्त अवस्थाका दैनिक ८-१० जना बिरामी भर्ना हुने र ३-४ जनाको मृत्यु हुने गरेको छ।

कर्णालीका अस्पतालले अहिले जनशक्ति, आईसीयू शय्या र अक्सिजनजस्ता समस्या भोगिरहेका छन्।

कर्णालीमा अक्सिजन भण्डारण गर्ने ‘प्लान्ट’ नहुँदा अक्सिजन सिलिन्डर दाङ र नेपालगञ्जबाट ल्याउनुपर्ने बाध्यता छ।

दक्ष जनशक्ति नहुँदा कतिपय अस्पतालमा जडान गरिएका भेन्टिलेटर र आइसीयू सञ्चालनमा आउन सकेका छैनन्।

अस्पतालहरूमा अभावै अभाव

पालो दिने जनशक्ति, विद्युत्, अक्सिजन, औषधी, आइसोलेशन शय्याको अभावमा सेवा दिनु परिरहेको दुर्गमका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी गुनासो गर्छन्।

रुकुम पश्चिमको चौरजहारी अस्पतालका प्रमुख डा. कालेब बुढा सीमित स्रोत साधनकै भरमा नियमितसँगै कोभिडका बिरामीलाई पनि उपचार गर्नु पर्ने अवस्था रहेको बताउँछन्।

“अहिले नियमित र कोभिडको सेवा दिन एकदमै गाह्रो भइरहेको छ”, उनी भन्छन्, “सीमित साधन स्रोतमा सिकिस्त बिरामीलाई केही गर्न नसक्दा दुःख लाग्छ।”

उच्च जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मी पालो लगाएर कोभिडका बिरामीको उपचार खटिएको बताउँछन्।

कर्णालीका हरेक अस्पतालमा कोभिडको उपचार गर्न छुट्टै समूह बनाइएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
 

१०-१४ दिन काम गरेर एउटा समूह क्वारन्टीनमा बस्ने र अर्को समूहले पालो दिने व्यवस्था मिलाइएको छ।

मानिसमा डरत्रास कम, भाइरस बलियो

अक्सिजन अभाव, आईसीयू शय्याको कमी, मानिसको लापरबाहीपूर्ण व्यवहार जस्ता कारणले कोरोनाभाइरससँग लड्न कठिन भइरहेको उपचारमा संलग्न स्वास्थ्यकर्मी बताउँछन्।

उनीहरू भन्छन्, “सुरुसुरुमा मानिसमा डरत्रास धेरै र कोरोनाभाइरस कमजोर थियो।”

अहिले “मानिसमा डरत्रास कम र कोरोनाभाइरस शक्तिशाली देखिएको छ।”

“जसको कारण सङ्क्रमण र मृत्युदर दुवै बढेको हुन सक्छ।”

कर्णालीका सुर्खेत, दैलेख र जुम्लामा आरटी-पीसीआर र एन्टीजन विधिबाट कोरोनाभाइरस परीक्षण भइरहेको छ।

सङ्क्रमणको दोस्रो लहरपछि कामको लागि कालापार (भारत) गएका कर्णालीबासी भने धमाधम घर फर्किरहेका छन्।

ज्याला मजदुरी गर्न कालापार गएकाहरू गहुँ भित्र्याउन र मकै रोप्न कोरोनाभाइरसको परीक्षणविना गाउँ फर्किँदा सङ्क्रमण नियन्त्रण बाहिर जानसक्ने अवस्था सृजना भएको चौरजहारी अस्पतालका प्रमुख डा. कालेब बुढाको धारणा छ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि प्रदेश सरकारले उपलब्ध गराएको ५० करोड रुपैयाँ आवश्यक जनशक्ति र उपकरणमा खर्च गरिने भएकोले केही हदसम्म समस्या हल हुने दाबी निर्देशनलायको छ।

कालापारबाट फर्किनेहरूको कर्णाली भित्रिने नाकामा ‘इन्ट्री’ गर्ने र ज्वरो मात्रै नापेर सिधै घर जान दिने गरिएकोले गाउँ-गाउँमा सङ्क्रमण फैलिने सक्ने कतिपय औँल्याउँछन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार दोस्रो लहरपछि भारतबाट १० हजार भन्दा बढी कर्णालीबासी गाउँ फर्किएका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्द ठकुरीले दैनिक करिब ३०० सय जना भारतबाट गाउँ फर्किरहेको बताए।

निषेधाज्ञा बढाउन सुझाव

निर्देशनालयका अनुसार कोरोनाभाइरस सङ्क्रमणबाट कर्णालीमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको छ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुशीला पोखरेलका अनुसार दैनिक पीसीआर विधिबाट ८०० स्वाब परीक्षण गर्ने गरिएको छ।

स्वास्थ्यकर्मीहरू कोरोनाभाइरस नियन्त्रण गर्न अस्पतालमा आवश्यक जनशक्ति र उपकरण, छुट्टै कोरोनाभाइरस उपचार कक्ष स्थापना, लकडाउन निषेधाज्ञाको समयावधि बढाउन सुझाव दिन्छन्।

   साभार: बिबिसी

You May Also Like