कालिकोटमा रास्कोटका स्वास्थ्यकर्मी धर्नामा

कालिकोट। कालिकोटको रास्कोट नगरपालिकाका स्वास्थ्यकर्मीहरु तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । विगत ११ महिनादेखि तलब भत्ता केही पनि नपाएको उनीहरुको गुनासो छ । पालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरुले बिहीबारदेखि पालिकाको प्राङ्गणमा धर्ना सुरु गरेका छन् ।

स्वास्थ्य मन्त्रालय र नगरपालिकाको गैर–जिम्मेवारीपनका कारण आफूहरुले तलब पाउन नसकेको उनीहरुको भनाई छ । तलब नपाउनेमा अधिकांश कर्मचारी समायोजन ऐन ०७५ तथा कर्मचारी मिलानसम्बन्धी व्यवस्था ०७७ बमोजिम रास्कोट नगरपालिकामा समायोजन संशोधन र मिलान भई आएका स्वास्थ्यकर्मीहरु रहेका छन् ।

फुकोट स्वास्थ्य चौकी रोस्कोट–९ मा कार्यरत सिनियर अहेब शंकरप्रसाद बरालले पटक–पटक छलफल र तलब माग गर्दा पनि स्वास्थ्य मन्त्रालय र नगरपालिकाले आफुहरुको पीडा नसुनेको बताए । ‘११ वैशाखमा ज्ञापनपत्र बुझाएको र सरोकारवाला निकायसँग पटक पटक छलफल समेत भयो, स्वास्थ्य मन्त्रालयले नगरपालिकालाई पत्र पठाउन भन्यो तर, पनि तलब आउन सकेन,’ उनले रातोपाटीसँग भने,‘ स्वास्थ्य मन्त्रालयबाट नै आउँछ भनेर यता पालिकाले बजेट छुट्टयाएको अवस्था छैन । यस्तो अवस्थामा हामीले के गरौँ हजुर।’

उनका अनुसार बिहीबारदेखि सुरु भएको आन्दोलनमा आफूहरुका केही मागहरु समेत रहेका छन् । उनीहरुले आकस्मिक सेवा र नियमित खोप सेवा बाहेकका सबै सेवा ठप्प पार्ने, माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु तय गरिने बताए ।

कर्मचारीको माग र तलब’bout रातोपाटीले नगरपालिकाका मेयर धर्मराज शाहीलाई बुझ्न खोज्दा उनी नेपाल बाहिर रहेको पाइयो । पालिकाका स्वास्थ्य शाखा प्रमुख हंशराज बरालले भने कुनै जवाफ दिन चाहेनन् । उनले भने, ‘मलाई थाहा छैन, अरु कसैलाई सोध्नुहोस् ।’

You May Also Like