अमेरिकामा गोली प्रहार हुँदा ९ जनाको मृत्यु, कैयौं घाइते

एजेन्सी । अमेरिकाको टेक्ससस्थित एउटा शपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ९ जनाको मृत्यु भएको छ ।

डल्लासको एलन क्षेत्रमा रहेको शपिङमलमा शनिबार साँझ एक ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको हो । मृतकहरुमा ५ वर्षीय बालक समेत रहेका छन् । घटनामा कैयौं मानिस घाइते भएको र ती मध्ये अस्पताल भर्ना गरिएका ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ । किनमेल गर्ने मानिसहरुले भरिभराउ मलमा एक्कासी गोली चलेपछि भागदौड र कोलाहल मच्चिएको थियो । मलका सुरक्षागार्ड र प्रहरी पनि बेहोस अवस्थामा फेला परेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनास्थलबाट सयौंलाई उद्धार गरिएको थियो । टेक्ससका गभर्नर ग्रेग एबोटले घटनाको ’boutमा बयान नै गर्न नसकिने खालको रहेको बताएका छन् ।

उता, उत्तरी क्यालिफोर्नियामा पनि अर्को गोलीकाण्ड भएको छ । उत्तरी क्यालिफोर्नियाको एक कलेजको पार्टीमा १७ वर्षीय किशोरले गोली प्रहार गर्दा ५ जना घाइते भएका छन् । अपार्टमेन्टमा गोली चलेको आवाज आएपछि गएको प्रहरीले ६ जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरेको छ ।

आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

You May Also Like