जनार्दन शर्माले किन बोलाए संगठन विभागको बैठक ?

काठमाडौँ । माओवादी केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले विभागको बैठक बोलाएका छन् । बुधबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा संगठन विभागको तर्फबाट आवश्यक सल्लाह र सुझाव दिन तथा विभागको कामलाई थप चुस्त बनाउन शर्माले बैठक बोलाएका हुन् ।

पार्टी कार्यालय पेरिसडाँडामा विभागको बैठक मंगलबार नै बस्न लागेको शर्माले जानकारी दिए । विभागलाई थप प्रभावकारी बनाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने उनको भनाइ छ ।

‘हामीले यसअघि विभागको तर्फबाट अध्यक्षलाई प्रतिवेदन बुझाइसकेका छौँ । आजको बैठकमा विभागलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा थप छलफल हुन्छ । विभागहरू ठूलो र भद्दा भएको गुनासो आएको छ । यसमा थपघट गर्ने वा के गर्ने भन्ने विषयमा छलफल गर्छौँ । विभागका तर्फबाट आएका थप सुझावलाई केन्द्रीय समिति बैठकमा पेस गर्छौँ’, उनले भने ।

विभागले काम गर्न नसकेको भन्ने आरोपप्रति उनले असहमति जनाए ।

‘विभागले काम नै गर्न नसकेको होइन, काम धेरै भएका छन्’, उनले भने, ‘व्यवस्थित हुन नसकेको हो । केन्द्रीय समितिको बैठकपछि यसलाई प्रभावकारी बनाउनुपर्छ ।’

माओवादीमा ३२ वटा विभाग रहे पनि अधिकांश निष्क्रिय छन् ।

You May Also Like