कर्णालीमा लागुऔषध दुर्व्यसनी मौलाउदो

सुर्खेत । वीरेन्द्रनगरमा लागुपदार्थ कारोबार र सेवनको हट स्पट बन्दै गएको छ । पछिल्लो समय सुर्खेत प्रहरीले गत असार १ देखि साउन ३ गतेसम्मको अवधिमा वीरेन्द्रनगरका विभिन्न ठाउँबाट लागुपदार्थ कारोबार तथा सेवनको मुद्दामा २६ जनालाई पक्राउ गरेको छ ।

सुर्खेतमा मात्रै होइन, बर्सेनि कर्णालीका माथिल्ला जिल्लामा सयौँको संख्यामा युवाहरू लागुपदार्थसहित पक्राउ परिरहेका छन् । लागुपदार्थको मुख्य ट्रान्जिट बनेको सुर्खेतबाट यातायातको पहुँच बढेसँगै बिस्तारै दुर्गम जिल्लामा समेत लागुपदार्थ प्रयोगकर्ताहरू बढ्दै गएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीले गत आर्थिक वर्ष २०७९-०८० देखि हालसम्म कर्णालीका सात जिल्लाबाट १ सय १४ वटा लागुपदार्थ सेवन र प्रयोग गरेको मुद्दामा २ सय १४ जनालाई पक्राउ गरेको छ । जसमा १ सय ९८ जना पुरुष र १६ जना महिला रहेका छन् ।

लागुपदार्थको मुद्दाको जिल्लागत तथ्यांक हेर्दा सबैभन्दा धेरै सुर्खेतमा ८८ वटा मुद्दामा १ सय ३७ पुरुष र १२ महिला गरी १ सय ४९ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । जुम्लामा १२ मुद्दामा ३० पुरुष र एक महिला पक्राउ परेका छन् । यस्तै, मुगुमा तीन मुद्दामा सात पुरुष र एक महिला, दैलेखमा चार मुद्दामा नौ पुरुष पक्राउ परेका छन् ।

कालीकोटमा तीन मुद्दामा पाँच पुरुष एक महिला, जाजरकोटमा दुई मुद्दामा सात पुरुष, एक महिला र सल्यानमा दुई मुद्दामा तीन पुरुष पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक उल्लेख गरिएको छ । पक्राउ पर्नेहरू प्रायःजसो ३० वर्षमुनिका युवा तथा युवती छन् ।

शिक्षाको कमी, बेरोजगारी, पारिवारिक स्थिति, देखासिकी, सामाजिक तथा आर्थिक कारण युवाहरू लागुऔषधको दुर्व्यसनीमा फस्दै गएका छन् । आवश्यक कानुनको जानकारी नहुनु तथा लागुपदार्थको दीर्घकालीन समस्याका ’boutमा आवश्यक जनचेतनासमेत नहुनुले पनि युवाहरू लागुपदार्थको दलदलमा फस्दै गएका छन् ।

लागुपदार्थ रोकथाम र न्यूनीकरणका लागि स्थानीय तह तथा प्रदेश सरकारले प्रभावकारी कार्यक्रमहरू अगाडि सारिनुपर्नेमा त्यसो भने हुन सकेको छैन । प्रहरीको सक्रियताले लागुपदार्थ कारोबार र प्रयोगको ग्राफ बढेको भए पनि यसमा संलग्न मुख्य कारोबारी भने अझैसम्म पनि पक्राउ पर्न सकेका छैनन् ।

पछिल्लो समय लागुऔषधको कारोबार र सेवनमा महिलाको संख्या बढ्दै पाईएको छ । तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने कर्णालीमा महिलाहरू लागुऔषधको मुद्दामा ठूलो संख्यामा पक्राउ पर्न थालेका छन् । आर्थिक वर्ष २०७७-०७८ मा १ सय २१ जना पुरुष पक्राउ पर्दा १५ जना महिला पक्राउ परेका थिए ।

यस्तै, आर्थिक वर्ष २०७८-०७९ मा १ सय ६४ जना पुरुष पक्राउ पर्दा आठ जना महिला पक्राउ परेका थिए । गत आर्थिक वर्ष २०७९-०८० मा १ सय ९८ जना पुरुष पक्राउ पर्दा १६ जना महिला लागुऔषधको सेवन र कारोबारको मुद्दामा पक्राउ परेका छन् । महिलाहरू पारिवारिक र आर्थिक समस्याका कारण लागुऔषध ओसारपसार तथा सेवनमा लाग्दै गएको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।

You May Also Like