महिला फुटबल: नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज बंगलादेशसँग खेल्दैछ ।

खेल ढाकामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ । चीनमा आगामी सेप्टेम्बर-अक्टोबरमा हुने १९औं एसियन गेम्सको तयारी स्वरुप नेपालको महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

गतवर्ष भएको साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशको महिला टिम पहिलो पटक भिड्न लागेका हुन् । त्यसबेला काठमाडौंमै घरेलु टोली नेपाललाई ३-१ ले हराएर बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको थियो ।

यस पटक नेपाल त्यो हारको बदला लिने लक्ष्यमा छ । साफपछि नेपालले भारतले दुई मेत्रीपूर्ण खेल र भियतनामसँग ओलम्पिक छनोटमा दुई खेल खेलेको थियो ।

इजरायली क्लब हापोन रानानामा अनुबन्ध हुँदै युरोपियन लिग खेल्ने तयारीमा रहेकी नेपाली स्टार सावित्रा भण्डारीको लय नेपालको लागि सहयोगी बन्ने प्रशिक्षक अनन्त थापा र कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको विश्वास छ ।

उता बंगलादेशले भने त्यसपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । साफ जितेपछि मुख्य प्रशिक्षक गुलाम रब्बानी छोटोनले टिम छाडेका थिए भने बंगलादेशी टिममा अन्य खेलाडी पनि परिवर्तन भएको छ ।

You May Also Like