सोरु गाउँपालिकामा प्रथम उपाध्यक्ष गोल्डकप हुँदै

मुगु । सोरु गाउँपालिकाले पहिलो पटक प्रथम उपाध्यक्ष गोल्डकपको आयोजना गर्दैछ ।

‘खेलकुद क्षेत्रमा सोरुको अभियान, क्षमतावान खेलाडीको वास्तविक पहिचान’ भन्ने मूल नाराका साथ आगामी जेठ महिनाको २० देखि २७ गतेसम्म कार्यक्रमको आयोजना गर्दैछ । विविध साँस्कृतिक कार्यक्रमसहित आयोजना गर्न लागिएको फुटबल प्रतियोगितामा जिल्लाभरका खेलाडीहरुको उपस्थित रहने सोरु गाउँपालिकाले विश्वास गरेको छ ।

जिल्लामा प्रतिभावान खेलाडीहरु रहेर पनि अवसर नपाउँदा पहिचान समेत गुमाएको भन्दै यस्तो खालको कार्यक्रमको आयोजना गरिएको सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजंग शाहीले बताए । उनले भने – ‘उपाध्यक्ष गोल्डकप पुरुष फुटबल प्रतियोगिता हो, यो अब हरेक वर्ष आयोजना गरिनेछ ।’

गाउँपालिकाकै केन्द्र मानिने वडा नं। ६ स्थित सोरुकोट पोग्रीमा हुने कार्यक्रममा सहभागिताका लागि गाउँपालिकाले जिल्लाभरका खेलाडीहरुलाई आह्वानसमेत गरेको छ । प्रतियोगितामा विजयी खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसअन्तर्गत प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११, द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ र तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ राखिएको छ ।

गोल्डकप कार्यक्रमको उद्घाटन विशेष साँस्कृतिक कार्यक्रमसहित गरिने तयारी गाउँपालिकाले गरेको छ । जहाँ स्थानीय कलाकौशलको प्रदर्शनीसमेत गरिनेछ ।

You May Also Like