चौँरीगोठमै वनचौँरी

हुम्ला । संसारकै दुर्लभ वन्यजन्तु वनचौँरी हुम्लाको लिमीमा देखिन थालेका छन् । लिमीका फाँटमा माथिमाथि गएर खोज्दा पनि आक्कलझुक्कल देखिने वन चौँरी अहिले पछिल्लो समय घरपालुवा चौँरीसँगै चर्न थालेको नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

हुम्लामा लामो समयदेखि विभिन्न अनुसन्धाताहरूले विश्वकै दुर्लभ प्रजाति मानिएको वन चौँरीको अनुसन्धान गरिरहेका छन् । ती अनुसन्धानहरूले ५५ वर्षपछि लिमीमा सन् २०१४ मा १, २०१९ मा १, २०२२ मा ५ र २०२३ को जुनसम्ममा २ वटा वन चौँरी देखिएको उल्लेख गरेका छन् । यस्तै चुवाखोलामा सन् २०१४ मा ३ वटा वन चौँरी देखिएका थिए । तीमध्ये २०१४ मा चुवाखोलामा देखिएका ३ वटा र २०२० मा लिमीमा एउटा गरी ४ वटा वन चौँरीलाई सिकारीहरूले मारेको विभिन्न अनुसन्धानकर्ताले २०१४ यता गरेको अध्ययनले देखाएको २०२१ पछि हुम्लामा पाइने वन्यजन्तुको अध्ययन र अनुसन्धानमा लागेका सीमकोट १ दोजामका स्थानीय अभिनाश लामाले बताए ।

विगतमा टाढाटाढा गएपछि मात्र कहिलेकाहिँ देखिने वन चौँरी अहिले घरपालुवा चौँरीसँगै चरेको देख्न सकिन्छ । पहिला चोरी सिकारीहरूले लखेटिलखेटी मार्ने गरेकाले मान्छे देख्नेबित्तिकै भाग्ने गरे पनि पछिल्लो समय वन्यजन्तुको शिकार गर्न प्रतिबन्ध लगाइएपछि वन चौँरीको संख्या बढेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए । बथानै नआए पनि १, २ वटा चौँरी भने सधैँ आफूले पालेका चौँरीसँग आउने गरेको उनले बताए ।

हिमाली भेगमा पाइने विभिन्न प्रजातिका वन्यजन्तुको चोरी सिकार बढेपछि नाम्खा गाउँपालिका पूरै र सिमकोट १ को चुवाखोला क्षेत्रमा सिकार गर्न प्रतिबन्ध लगाएपछि केहि हदसम्म वन्यजन्तुको संरक्षण भएको र पछिल्लो समयमा चोरीसिकार गरेको पनि नपाइएको डिभिजन वन कार्यालयका रेन्जर एवं योजना अधिकृत लोकजंग शाहीले बताए ।

उहिल्यै लोप भइसकेको भनिएको वन चौँरी पुनः देखिनु सुखद भए पनि यसलाई जोगाइराख्न ठूलै कसरत गर्नुपर्ने भएको छ । धरपालुवा चौँरीका भन्दा लामा भुत्ला हुनुका साथै यो ठूलो र बलियो पनि हुन्छ । वर्षको आठरदश महिना ४ हजारदेखि ६ हजार मिटरसम्मको उचाईमा रहन्छ । पुस, माघतिर जाडो छल्न करिब ३ हजार मिटर भू–सतहसम्म झर्ने र फागुन, चैतमा फेरि उकालो लाग्ने गर्दछन् । डीएनए परीक्षणअनुसार याक र जंगली याक १० लाख वर्षभन्दा अघि नै छुट्टिएको भन्ने बुझिन्छ । तिब्बत र लद्दाखमा थोरै संख्यामा पाइने वन चौँरीलाई विश्व प्रकृति संरक्षण संघ ९आईयूसीएन० ले अति संवेदनशील सूचीमा राखेको छ । यो कुनै पनि बेला संकटापन्न ९अर्थात् लोप हुने अवस्थातर्फ उन्मुख हुने० देखिएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागद्वारा प्रकाशित द स्टेट्स अफ नेपाल्स म्यामल्स स् द नेसनल रेड लिस्ट सेरिज, २०११ का अनुसार नेपालबाट भने वनचौँरी लोप भइसकेको भनिए पनि हुम्लाको उत्तरी क्षेत्र नाम्खा–६ को लिमी र सीमकोट–१ को चुवाखोलामा भने पछिल्लो समय देखिन थालेको रेन्जर शाहीले बताए । शाहीले भने, ‘हिमाली ब्वाँसोमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेकी स्विस वन्यजन्तुविद् जेराल्डिन वेरहान र वन्यजन्तु अनुसन्धानकर्ता नरेश कुसीले त सन् २०१४ मा लिमीमा जंगली याक आँखैले देखेको बताएकाले हुम्लामा पनि वनचौँरी हुन्छ भन्ने थाहा भएको र पछिल्लो समय यसको विषयमा अनुसन्धान हुन थालेको शाहीले बताए ।

‘हुम्लाको लिमी र चुवाखोलामा पाइने वनचौँरी के हो भन्ने कुरा धेरैलाई थाहै छैन,’ लिमीवासी भन्छन् । त्यहाँका स्थानीयवासी भने यसलाई जोङ भन्ने गर्छन् । घरपालुवा चौँरीभन्दा यसको मासु स्वादिष्ट हुने भएकाले सिकार गर्ने र घरपालुवा पोथी चौँरीगाईसँग संसर्ग गर्न आउने क्रममा वन चौँरीले गोठालाहरूलाई पनि हैरान बनाउने गरेकाले वनचौँरी मारिने गरेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘यसले गर्दा वनचौँरीमात्र नभई अन्य वन्यजन्तुको पनि चोरीसिकारी बढेर वन्यजन्तुको नाश हुने हुँदा बौद्ध धर्मगुरुले नाम्खा गाउँपालिकाभरि नै सिकार गर्न प्रतिबन्ध लगाएपछि अहिले हामी पनि सिकार गर्दैनौं र अरुलाई पनि गर्न नदिने भएकाले वनचौँरी संरक्षणमा केहि सहयोग पुगेको छ,’ तामाङले भने ।

सन् २०१३ मा प्रकृतिका साथीहरू नामक संस्थाका अनुसन्धानकर्ताहरूले समुद्री सतहबाट ४ हजार ९३० मिटरको उचाईमा अवस्थित लिमीको गेउ उपत्यकामा वन चौँरीका पैतालाका डोब र आलो गोबर भेटिएको र च्याकपालुङ क्षेत्रमा सिङ पनि फेला परेको भन्दै यसको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने कुरा अनुसन्धानकर्ताले बताएको उनले उल्लेख गरे ।

नेपालबाट लोप भइसकेको भनिएको वनचौँरी भेटिनु सुखद हो तर कुनै पनि बेला पुनः लोप हुनसक्ने खतरा भएकाले तीनै तहका सरकार र सरोकारवाला निकायहरू यसरी नै चुपचाप बस्ने हो भने निकट भविष्यमै यो प्राणी लोप हुनेमा कुनै शंका नभएको डिभिजन वन कार्यालयका रेन्जर एवं योजना अधिकृत लोकजंग शाहीले बताए ।

You May Also Like