होप र पुरनको उत्कृष्ट साझेदारीपछि नेपालले पायो विशाल लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजबाट तीन सय ४० रनको विजय लक्ष्य पाएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ३९ रन बनाएको थियो । केवल ५५ रनको कूल स्कोरमा तीन विकेट गुमाएको वेस्ट इन्डिजलाई त्यसपछि निकोलस पुरन र साई होपले उकासेका थिए । पुरन र होपले चौथो विकेटका लागि दुई सय १६ रनको साझेदारी गरेपछि वेस्ट इन्डिज बलियो स्थितिमा पुगेको थियो ।

पुरन र होप दुबैले वेस्ट इन्डिजका लागि सतकीय पाली खेले । लामो समय क्रिजमा टिकेका पुरनले एक सय १५ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ९४ बलको सामना गरी चार छक्का र १० वटा चौका पनि प्रहार गरेका थिए । विकेट किपर ब्याट्सम्यान होपले भने एक सय ३२ रन बनाए । कप्तानसमेत रहेका होपले एक सय २९ बलको सामना गरी तीन छक्का र १० चौका प्रहार गरेका थिए । रोभमन पोवेलले पनि वेस्ट इन्डिजको खातामा २९ रन थपे ।

करण केसीले वेस्ट इन्डिजको पहिलो विकेट लिएका थिए । उनले ओपनर काइले मायर्सलाई आउट गराएका हुन् । आफ्नो पहिलो ओभरको तेस्रो बलमै करणले मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । वेस्ट इन्डिजले दुई रनकै कूल स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । त्यो सफलतासँगै करण विश्वकप विजेता रहिसकेको राष्ट्रविरुद्ध विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् ।

त्यसपछि गुल्सन झाले वेस्ट इन्डिजको दोस्रो विकेट लिएका थिए । उनले जोन्सन चार्ल्सलाई आउट गराएका थिए । गुल्सनले चार्ल्सलाई शून्य रनमै आसिफ शेखमार्फत क्याच गराएका थिए । त्यतिबेला वेस्ट इन्डिजको कूल स्कोर नौ रन थियो । यसैगरी स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजको तेस्रो विकेट लिएका थिए । उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रान्डन किंगको विकेट लिएका थिए । सन्दीपले किंगलाई ३२ रनमा बोल्ड गरेका थिए । सन्दीपले जारी प्रतियोगितामा लिएको यो पहिलो विकेट हो । किंगले ४२ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । वेस्ट इन्डिजले ५५ रनमा तेस्रो विकेट गुमाएको हो ।

यसैगरी चौथो विकेटका रुपमा वेस्ट इन्डिजका निकोलस पुरन पेभेलियन फर्किएका थिए । पुरनको विकेट नेपालका अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । पुरनको क्याच पनि दीपेन्द्र आफैले लिएका थिए । पाँचौं विकेटका रुपमा रोभमन पोवेल पेभेलियन फर्किका थिए । उनको विकेट ललित राजवंशीले लिएका थिए । राजवंशीले पोवेललाई २९ रनमा गुल्सन झामार्फत क्याच गराएका हुन् । पोवेलले १४ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काएका थिए । पाँचौं विकेट खस्दा वेस्ट इन्डिजको कूल स्कोर तीन सय १० रन थियो ।

छैटौं विकेटका रुपमा कप्तान साई होप पेभेलियन फर्किएका थिए । उनको विकेट पनि ललितले नै लिएका थिए । ललितले होपलाई भीम सार्कीमार्फत क्याच गराएका थिए । साई एक सय ३२ रन बनाउँदै आउट भएका हुन् । त्यसपछि ललितले सातौं विकेटका रुपमा किमो पलको विकेट लिए । ललितले पललाई एक रनमा बोल्ड गरेका थिए । वेस्ट इन्डिजले अतिरिक्त रुपमा १३ रन पाएको थियो ।

ललितले १० ओभरमा ५२ रन खर्चिए तीन विकेट लिए भने करणले १० ओभरमा ८१ रन खर्चिएर एक विकेट हात पारे । गुल्सनले आठ ओभरमा ६४ रन खर्चिएर एक विकेट लिए भने सन्दीपले १० ओभरमा ५० रन खर्चिएर एक विकेट हात पारे । दीपेन्द्रले सात ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए । जिम्बाबेको हरारे स्पोर्ट क्लबमा भएको खेलमा नेपालले टस जितेर वेस्ट इन्डिजलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता हो । नेपालले एकदिवसीय विश्वकप विजेता टोलीसँग इतिहासमै पहिलो पटक प्रतिस्पर्धा गरेको हो ।

त्यसैले बिहीबारको खेलमा नेपाली बलर ललितले पनि इतिहास रचे । विश्वकप विजेता रहिसकेको टोलीविरुद्ध बलिङ गर्ने पहिलो नेपाली बलर बने ललित । नेपालले ललितलाई वेस्ट इन्डिजविरुद्धको खेलमा ओपनर बलरको रुपमा प्रयोग गरेको हो । आफ्नो पहिलो ओभरमा ललितले केवल दुई रन दिए । उनको बलमा वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रेन्डन किंग र काइले मायर्सले एक–एक रन लिएका थिए ।

You May Also Like