छाउपडीविरुद्ध बोल्न किन डराउँछन् उम्मेदवार ?

काठमाडौँ । दैलेखको आठबिस नगरपालिकाको भेल्तडीमा निर्माणाधीन छाउगोठमा बसेकी एक महिला । उम्मेदवारहरुले छाउपडी कुप्रथालाई चुनावी एजेण्डा बनाउन नसक्दा महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने बाध्यता कायमै छ ।

मंसिर १३, २०७४-चामुण्डा विन्द्रासैनी नगरपालिका–४ हाडाकोटमा लोकतान्त्रिक गठबन्धनले मंगलबार र वाम गठबन्धनले बुधबार नजिकैको चाल्नेचौतारामा चुनावीसभा गरे । दुवै गठबन्धनका नेताहरुको उस्तै भाषण थियो- सडक, खानेपानी, स्कूल क्याम्पस, टेलिकम टावर निर्माण, विद्युत् विस्तार, रोजगारी सिर्जना ।

उम्मेदवारहरुले विकास पूर्वाधार निर्माणमै केन्द्रित भएर आफ्नो भाषणको अधिकांश समय खर्चे । बरु, एकापसमा प्रतिस्पर्धी उम्मेदवार तथा पार्टीलाई व्यक्तिगत लाञ्छना लगाउन समेत पछि परेनन् ।

हाडाकोट सभास्थल नजिकै चिया पसल सञ्चालन गर्दै आएका स्थानीय दीपेन्द्र शाही भन्छन्, ‘दुवैका भाषण सुनें । विगतमा जे आश्वासन दिएका थिए अहिले पनि तीनै दोहोर्‍याए । आश्वासन दिनेमै होडबाजी चलिरहेको छ ।’ नेताहरुले ‘भोट केन्द्रित राजनीति’गरेकाले थुप्रै सामाजिक सवाल ओझेलमा परेको बताउँछन् ।

उम्मेदवार र, तीनका सर्मथक नेताहरुको भाषणमा छाउपडी, जातीय विभेद, बालविवाहजस्ता विकराल सामाजिक समस्याले ‘स्पेस’नपाएको उनको भनाइ छ । ‘यी समस्या’bout बोल्न डराउने अवस्था छ’ केही वर्ष स्थानीय गैरसरकारी संस्थामा काम गरेका व्यवसायी दीपेन्द्र भन्छन्, ‘जे बोल्दा मतदाताहरु रुचाउँछन् । तीनै शब्द दोहोर्‍याई–तेहर्‍याई बोल्छन् । मैले दुवै आमसभा हेर्दा छाउपडी शब्द त उच्चारण गरेको समेत पाइनँ ।’

दैलेखमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा छाउपडीको विकराल समस्या छ । सुदूरपश्चिम (अछाम)सँग सीमा जोडिएकाले छाउपडी र एचआईभी/एड्सको समस्या यो क्षेत्रमा अलि बढी छ ।

गत जेठ–असारमा यहाँकै दुई किशोरीले छाउगोठमै ज्यान गुमाउनुपरेको थियो । २३ वर्षीया तुल्सी शाही र १४ वर्षीया लालसरा शाहीको छाउपडी बसेका बेलामा गोठमा सर्पले डसेर उपचार अभावले मृत्यु भएको थियो ।

महिनावारी हुँदा घरदेखि अलग्गै बस्नुपर्ने बाध्यता कायमै छ । छाउ बार्दा यस क्षेत्रका महिलाहरु बलात्कार, वन्यजन्तुको आक्रमण, पढाइमा असर, पोषणयुक्त खानेकुराको कमी, सर्पले डस्नेजस्ता पीडा भोग्न बाध्य छन् ।

जनताको विश्वास प्राप्त गर्न मैदानमा होमिएका उम्मेदवार तथा तीनका पार्टीहरु अपवादबाहेक यी मुद्दालाई चुनावी एजेण्डा बनाउन सकेका छैनन् । आठबीस नगरपालिकाकी उपप्रमुखसमेत रहेकी कांग्रेस नेतृ दीपा बोहराले सामाजिक रुपान्तरण, सशक्तिकरणको पाटो ओझेलमा परेको बताउँछिन् । ‘सामाजिक रुपान्तरणलाई बाइपास गरेर भौतिक पूर्वाधार निर्माणबाट मात्र समृद्ध समाजको परिकल्पना गर्न सकिन्न् । नेताहरुले बुझेर पनि बुझ पचाइरहेका छन्’उनी भन्छिन्, ‘आर्थिकोन्नति चाहने हो भने समाजमा व्याप्त विकृति–विसंगतिलाई निवारण गर्न दलहरुसँग दृढ इच्छाशक्ति चाहिन्छ ।’

कांग्रेसको निर्वाचन परिचालन कमिटीमा रहेकी उनले महिला (समानुपातिक) उम्मेदवारले भने प्रस्टैसँग कुरा उठाउने गरेको बताइन् । छाउपडीविरुद्ध योजना सुनाए समाजकै एउटा तप्काले नरुचाउने प्रवृत्ति बाधक रहेकाले चुनावी मुद्दा बन्न नसकेको उनको बुझाई छ ।

दैलेख–२ मा प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका शिवराज जोशी, प्रदेशसभामा मधुरविक्रम खनाल र दिक्पाल शाही तथा प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका राजबहादुर बुढा तथा प्रदेशसभामा सुशील थापा र राजबहादुर शाही चुनावी मैदानमा छन् ।

दैलेख–२ जस्तै सुर्खेत–२ मा पनि छाउपडी समस्या कायमै छ । विभिन्न गैरसरकारी संस्थाको अगुवाइमा केही वर्षअघि छाउगोठ हटाइएका थिए । तर, सीमित अवधिका लागि सञ्चालित ती अभियानहरुप्रति जनताको अपनत्व नहुँदा पुन: छाउगोठ बन्न थाले ।

अहिले पनि पश्चिम सुर्खेतका अधिकांश घरधुरीमा छाउ बार्ने कुप्रथा कायम छ । सुर्खेत–२ का प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरु यतिबेला गाउँ–गाउँमा आमसभा र घरदैलो गर्दै मतदातासँग भोट मागिरहेका छन् ।

प्रतिनिधिसभामा कांग्रेसका हृदयराम थानी र वाम गठबन्धनको तर्फबाट एमालेका नवराज रावत, प्रदेश सभामा कांग्रेसको तर्फबाट सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विन्दमान विष्ट मुख्य प्रतिस्पर्धामा छन् । प्रत्यक्षसँगै समानुपातिक उम्मेदवारहरु पनि आमसभा, घरदैलोमै व्यस्त छन् ।

उम्मेदवारहरुले आफ्नो प्रतिवद्धता–पत्रमा छाउपडी न्यूनिकरणलाई बहसको विषय बनाउन सकेका छैनन् । चौकुने गाउँपालिका गुटुबजारकी लक्ष्मी बुढाले नेताहरुले अनेकौं सपना बाँड्ने गरेको तर, पुरा गर्न सकिने समस्याका ’boutमा चुपचाप बसेको दुखेसो गरिन् । ‘रेल, केवलकार, फ्रि वाइफाई, आर्थिक क्रान्तिका कुराहरु मात्र सुनिन्छन् ।

सानो प्रयासबाट निर्मूल गर्न सकिने समस्या’bout बोलेकै छैनन्’ लक्ष्मी भन्छिन्, ‘नेताहरुलाई यस्ता कुरा उठाए भोट आउँदैन भन्ने लाग्दोरहेछ ।’ समाजका पुरुष र कतिपय बुढापाका महिलाहरु समेत छाउपडी कुप्रथाकै पक्षमा रहेकाले उम्मेदवारहरु डराएको उनी बताउँछिन् । -कान्तिपुर दैनिकबाट

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like