योगेशलाई झकबहादुर मल्लको जवाफ: आफैँले हस्ताक्षर गर्दा बेहोस हुनुहुन्थ्यो?

सुर्खेत । नेकपा माओवादीका युवा नेता एवं केन्द्रीय सदस्य झकबहादुर मल्ल (सुदीप)ले नेकपा एमाले सचिव योगेश भट्टराईले ‘जनयुद्ध’ शब्द प्रति उठाएको प्रश्नको काउन्टर जवाफ दिएका छन् । भट्टराईले सोमबार प्रतिनिधि सभाको बैठकमा जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा व्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएको प्रति आपत्ति जनाएका थिए ।  

संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्ताबेजमा नरहेको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै आलोचना गरेका थिए । साथै उनले सामाजिक सञ्जाल फेसबुकमा समेत माओवादी जनयुद्ध प्रति प्रश्न उठाएका छन् । माओवादी केन्द्रीय सदस्य मल्लले ‘इतिहासतिर फर्केर गौरवपूर्ण जनयुद्ध’ माथि प्रश्न गर्नेले कान खोलेर सुन् भन्दै ७ वटा प्रश्न उठाएका छन् । 
 
१– नेकपाको विधान र प्रतिवेदनमा आफैँले हस्ताक्षर गर्दा के होली वाइनको नशामा बेहोस हुनुहुन्थ्यो ? 
२– २०७६ सालमा पार्टी कार्यालयमा गरिएको जनयुद्ध दिवसको सन्दर्भमा तपाईंले बोलेका कुरा केवल झुटका पुलिन्दा थिए ? 
 
३–हेक्का रहोस् नेपाली राजनैतिक इतिहासको कर्वट बदल्ने महान् जनयुद्ध सर्वस्वीकार्य ऐतिहासिक कोशेढुंगा हो । जनयुद्धरुपि यो विशाल पहाडसँग ठोक्किने जुनसुकै शक्ति वा व्यक्तिको इतिहास आंशिक वा पूर्णरुपमा धराशायी भएको छ ।

४– राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सेना र प्रहरीले तिम्रा पिँडुला रंगिनेगरि लाठीचार्ज गरेको र सयौँ कार्यकर्ता प्रहरी हिरासतमा पुग्दा के हविगत भएको थियो, सम्झिने प्रयास गरेका छौं ? 

५– स्कुल पढ्दै गरेको ११ वर्षीय दिलबहादुर रम्तेललाई स्कुलमै गोली हानेर हत्याको सुरुवात के राज्यले गरेको थिएन ? खाराको बस्ती जलाउने बाँके र बर्दियामा सयौँ निहत्था नेता र कार्यकर्ताहरूलाई हत्या र बलात्कार गर्दै बेपत्ता पार्ने काम को सुरुवात राज्यले गरेको होइन ? कालिकोटको विमानस्थलमा काम गर्न गएका ३० जना मजदुरहरूलाई लाइन लगाएर गोली हानेको तिम्रै सत्ताले होइन ? बाबु जनसेनाको कमान्डर भएको कारण उसको ६ महिनाको छोरालाई कोटबाडामा मारेको तिमिले सुनेनौ ? 

६– सांस्कृतिक कार्यक्रम सकेर हिँड्दै गरेकी मेरो जीवनसंगिनी भूमिसरा ओली र गङ्गा घर्ती लाई एक घण्टा हिँडाएर सैनिक क्याम्पमा २०५९ जेठमा पुर्‍याएको देख्ने तिम्रा दर्जनौँ कार्यकर्तालाई सोध रातभर के गरियो र भोलिपल्ट दोहोरो भिडन्तमा मारिएको प्रचार गरियो यो कुरा बुझ्दैनौ ? 

७– तत्कालीन अवस्थामा तिम्रो पार्टीसमेत सहभागी संयुक्त वामपन्थी आन्दोलन र त्यसले निर्माण गरेको समितिले निकालेको छानबिन प्रतिवेदन जसमा राज्यले कानुन र मानवअधिकारको उल्लङ्घन गर्दै सुर्खेतमा गणेश न्यौपाने र डिला थापालाई गरेको गैरन्यायिक हत्याको तिमीले कसरी व्याख्या गर्छौँ ?

You May Also Like