प्रभु साहलाई पक्राउ गर्न ६ दलको माग

जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहलाई पक्राउ गर्न विभिन्न ६ दलले माग गरेका छन् । अध्यक्ष साह गौर हत्याकाण्डमा संलग्न रहेको भन्दै जसपासहित ६ दलले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका हुन् ।

साहलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले पूर्व प्रदेश सांसद रामसागर यादवको नेतृत्वमा २१ सदस्यीय समिति बनेको छ । उक्त समितिमा जसपा नेपाल, जनमत, लोसपा, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता कार्यकर्ता छन् ।

समितिले आज गौरमा अध्यक्ष साहविरुद्ध प्रदर्शन पनि गरेको छ । उनीहरुले हिन्दुवादी नेता काशीनाथ तिवारी, अन्तर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागी र शिक्षक सुनिल यादवको हत्यामा संलग्न रहेको भन्दै प्रभु साहलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

यसअघि साउन १ गते १७ वर्षअघि भएको गौर हत्याकाण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै गौर हत्याकाण्ड संघर्ष समितिले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सो हत्याकाण्डको फाइल खोल्न माग गरेका थिए ।

रुपसागर देवीको संयोजकत्वमा गठित समितिले २०६४ चैत ७ मा भएको गौर हत्याकाण्डका मुख्य दोषी जसपा अध्यक्ष उपेन्द्र यादव रहेको दाबी गर्दै दोषीहरूमाथि कारबाही गरेर न्याय दिन संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।

You May Also Like