असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

उहाँले विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

त्यस्तै, बैठकले भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको र उक्त निर्णयले भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने बाटो खुलेको मन्त्री शर्माले बताउनुभयो ।

You May Also Like