बजेट नहुँदा प्रहरी चौकीको भवन अलपत्र

हुम्ला । निर्माणाधीन दुई वटा प्रहरी चौकीका भवन अलपत्र अवस्थामा छन् । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट भवन निर्माणका लागि थप बजेटको व्यवस्था हुन नसक्दा भवन अधुरै छ ।

नाम्खा गाउँपालिका–५ को हिल्सा प्रहरी चौकी भवनको निर्माण जिम्मा पाएको धुलिखेल निसान भेजीका प्रतिनिधि अखिल बुढाले प्रदेश सरकारले भवनको सम्झौता अनुसारको बजेटको व्यवस्था नभएपछि निर्माण भइरहेको भवन पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको बताए । सो भवन प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष ०७४।०७५ मा बोलपत्र अह्वान गरेर निर्माण कम्पनी छनौट गरेर दुई करोड ३६ लाख २९ हजार ५३१ दशमलव ८४ रुपियाँमा सम्झौता गरेको थियो ।

सम्झौतापछि जिल्ला प्रहरी कार्यालय हुम्लामा आएको निकासा रकममध्ये ४१ लाख ८२ हजार १०९ रुपियाँ निर्माण कम्पनीलाई पेश्कीसमेत गएको थियो । उनले आर्थिक वर्षको अन्तमा प्रहरी प्रदेश सरकार मातहतमा नआएको भन्दै बाँकी बजेटको व्यवस्था गर्न नसकिने जानकारी दिएपछि काम अधुरी छोड्नुपरेको बताए । बजेटको व्यवस्था भएकोभए उतिबेलै भवन सम्पन्न गरेर प्रहरी चौकीलाई बुुझाईसक्ने बताउँदै बुढाले सम्झौता अनुसारको बजेटको व्यवस्था नभएपछि पुनरावेदन अदालत जुम्लामा मुद्धासमेत हालेको बताए ।

You May Also Like