मुगुमा हिमपहिरो: अझै घटनास्थल पुग्न सकेन सुरक्षाकर्मीको टोली

सुर्खेत । मुगुको हिमपहिरोमा परी बेपत्ता भएकाहरूको अझै खोजी कार्य हुन सकिरहेको छैन । घटना भएको मंगलबार (आज) चार दिन भइसकेको छ । तर, अझै पनि हिमपहिरो गएको स्थानमा सुरक्षाकर्मीको टोली पुग्न नसकेको हो ।

हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका छन् । उनीहरू यार्सा टिप्न भन्दै मुगुको च्यार्खु पाटन पुगेका थिए ।

जेठ ४ गतेबाट यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने भनिए पनि जुम्लाको पातारासीबाट १४ र मुगु छायानाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेका थिए । घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने हुन्छ । १५ जना मध्ये १२ जना सकुशल फर्किएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

मुगुको हिमपहिरोमा परेका १२ जना प्रहरीको सम्पर्कमा

मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार निकै विकट क्षेत्र र जिल्ला सदरमुकामबाट निकै टाढा रहेकाले खोजी कार्यका लागि अझै केही दिन लाग्ने बताए । त्यहाँ सडक यातायातको पहुँच नै पुगेको छैन ।

उनका अनुसार घटना भएको शुक्रबार नै हो । तर, शनिबार बेलुका मात्र आफूहरूलाई जानकारी भएको थापाले रातोपाटीलाई बताए । आइतबार केही गर्न सकिएन । त्यसपछि प्रदेश सरकार र संघीय सरकारलाई बेपत्ताको खोजीकार्यका लागि पहल गरिदिन अनुरोध गरिएको थियो । बेपत्ताहरूको खोजी तथा उद्धारका लागि आइतबार बसेको कर्णाली प्रदेश सरकारको सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउने निर्णय गरेको थियो ।

आइतबार ढिला भएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर सोमबार बिहानै मुगु पुगेको थियो । थापाका अनुसार सोमबार हेलिकप्टरले २३ जना सुरक्षाकर्मीको टोलीलाई मुगुकै सिरानचौर भन्ने ठाउँमा झारेको थियो ।

मुगुमा हिमपहिरो: बेपत्ताको खोजीका लागि सेनाको हेलिकप्टर पुग्यो मुगु

‘सुर्खेतबाट पठाएको हेलिकप्टर घटना स्थलमा बस्न सक्ने स्थित छैन,’ प्रमुख जिल्ला अधिकारी थापाले भने,‘सिरानचौर भन्ने ठाउँमा हेलिकप्टरले सुरक्षाकर्मी झा¥यो । त्यहाँबाट सुरक्षाकर्मीहरू अर्को ठाउँमा गएर क्याम्प खडा गरेर बसिरहेका छन् । क्याम्पबाट आज सुरक्षाकर्मीको टोली घटनास्थलमा जान्छन् ।’

थापाका अनुसार हेलिकप्टर बसेको स्थानबाट घटनास्थल २७ किलोमिटर टाढा रहेको छ । बाटो पुरै हिउँले ढाकिएका कारण यात्रा गर्न समेत कठिन छ । उनका अनुसार खोजी कार्य गर्न अझै २–३ दिन लाग्ने देखिन्छ । घटना भएको मुगूम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ ल्याप्रे लामा घटना भएको स्थान पालिकाको कार्यालयदेखि निकै टाढा रहेको र आफू त्यो क्षेत्रमा कहिल्यै नपुगेको बताउँछन् । ‘त्यो घटना भएको त हामीले आइतबार मात्र जुम्लाबाट फोन आएपछि थाह पाएका थियौँ,’ उनले भने, ‘यहाँबाट २÷३ दिन जति लाग्छ भन्छन्, हामीलाई त केही थाहा छैन ।’

You May Also Like