सौर्य ऊर्जाले झिलिमिली ‘सोरुकोट’

मुगु । सोरु गाउँपालिकाको सोरुकोट सौर्यऊर्जाको बत्तीले झिलिमिली देखिएको छ । वैकल्पिक ऊर्जा र सोरु गाउँपालिकाको आर्थिक सहयोगमा १ सय ३६ सोलार पाता र ९६ वटा ब्याट्री जडान गरेर ६० वाटको विद्युत् उत्पादन गरी २ सय परिवारको घरमा विद्युत् पुर्‍याइएको छ ।

सयौं वर्षदेखि दियालोको भरमा रात कटाउँदै आएका सोरुकोट, रोकायाबाडा, बन्जाह लगायत गाउँका स्थानीय सौर्यऊर्जाबाट घरमा बिजुली बाल्न पाएपछि खुसी भएका छन् । सौर्यऊर्जाको बत्ती बाल्न पाउँदा खुसी लागेको सोरुकोट गाउँका उनबहादुर शाहीले बताए ।

गाउँपालिका, प्रहरी चौकी, वन डिपो, खाद्य, डिपो, इलाका प्रशासन कार्यालय रहेको सोरुकोटमा सौर्यऊर्जाको बत्तीले कर्मचारीलाई कामकाज गर्न सहज भएको बताइएको छ ।

यस्तै, शौर्य ऊर्जाको बत्तीले पालिकाको प्रशासनिक कामकाज गर्न सहज भएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । पानीको श्रोत नभएको सोरुकोटमा वैकल्पिक ऊर्जा र पालिकाको आर्थिक सहयोगमा सौर्यऊर्जा प्रविधिबाट विद्युत उत्पादन गरिएको हो ।

सोरुकोटका स्थानीयलाई रातमा उज्यालोदेखि मोबाइल लगायतका विद्युतीय उपकरण चार्ज गर्न तथा साना उद्योग संचालन गर्न सुविधा भएको छ ।

सौर्यऊर्जाबाट उत्पादन गरिएको बत्तीले सोरुकोट झिलिमिली भएको पालिका उपाध्यक्ष केशरबहादुर शाहीको भनाइ छ । उक्त विद्युतलाई विस्तार गर्न सोरुकोटभन्दा केही टाढाका बस्तीमा बत्ती पुर्‍याउने लक्ष्य राखिएको उनको भनाइ छ ।

You May Also Like