हिल्सा नाका दुईतर्फी सञ्चालनमा

सिमकोट । चीनसँगको व्यापारिक नाका हिल्सा पूर्ण रुपमा सञ्चालनमा आएको छ। दुवै देशका प्रतिनिधिबीच चीनतर्फको हिल्सामा औपचारिक कार्यक्रम गरेर नाका दुईतर्फी सञ्चालनमा ल्याइएको हो।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरी निरीक्षक टंकप्रसाद सापकोटाका अनुसार हिल्सा नाका पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो।

सीमा सञ्चालन गर्ने औपचारिक कार्यक्रममा नेपाली पक्षको प्रतिनिधित्व सशस्त्र प्रहरी निरीक्षक सापकोटाले गरेका थिए। नाका सञ्चालन भएको पहिलो दिन अठार जना नेपाली व्यापारी चीनको पुराङ (ताक्लाकोट) तर्फ लागेका छन्।

अब नियमित रुपमा ताक्लाकोटमा नेपाली व्यापारी र काम गर्न जाने मजदूरहरु जान पाउने सापकोटाले जानकारी दिए। पहिलो दिन नेपाली व्यापारी मात्रै गए पनि चीनतर्फबाट भने व्यापारी आएका छैनन्।

चिनियाँ पक्षले चीनतर्फबाट मे ७ तारिकबाट मात्र मानिसहरु आउन पाउने भए पनि सामान भने आजबाटै ल्याउन सकिने जनाएको थियो।

नाका सञ्चालनमा आएलगत्तै हिल्साका व्यापारी र होटेल व्यवसायी उत्साहित भएका छन्। नाका बन्द हुँदा व्यापारीले लामो समय व्यापार व्यवसाय गर्न पाएका थिएनन्।

कोरोनाका कारण २०७६ सालदेखि सो नाका बन्द हुँदै आएको थियो। बन्द रहेको नाकालाई गत फागुनमा व्यापारिक सामान ल्याउनका लागि केही एकतर्फी रुपमा चिनियाँ पक्षले खुलाएको थियो।

You May Also Like