जुम्लामा वडाबाट नुन बिक्रि वितरण सुरु

जुम्ला । जुम्लामा वडाबाट नुन बिक्रि वितरण गर्न सुरु गरिएको छ । नुन नपाएको भन्दै असार ३१ गते नागरिकहरूले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको कार्यालय तोडफोड गरेका थिए ।

त्यसपछि वितरण प्रणालीलाई सहज बनाउन वडाबाटै नुन बिक्रि गर्न सुरु गरिएको हो । वडा कार्यालयबाट स्थानीयलाई नुन बिक्रि गर्न सुरु गरिएको साल्ट ट्रेडिङ्ग जुम्लाले जनाएको छ । प्रति घरधुरी ३ केजीका दरमा नुन बिक्रि भइरहेको जनाइएको छ ।

साल्ट ट्रेडिङ्ग जुम्लाका प्रमुख खगेन्द्र मल्लले तातोपानी गाउँपालिकाका १–७ वडा, चन्दनाथ नगरपालिकाका १, ७, ८ र ९ नम्बर वडामा नुन पठाइसकिएको बताए । यस्तै गुठिचौर गाउँपालिकाका २ वटा वडामा पनि नुन पठाइसकिएको उनले बताए । साल्ट ट्रेडिङ्गबाट वडाहरुले ३ सय क्विन्टल नुन लिइसकेका छन् ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुन किन्नका लागि भिड लाग्नुपर्ने बाध्यता हटाउनका वडाबाटै नुन बिक्रि गरिएको बताए ।

You May Also Like