संवैधानिक परिषद्को बैठक शुक्रबार बस्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। उनले शुक्रबार बिहान ९ बजेका लागि सिंहदरबारमा बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल हुनेछ। लामो समयदेखि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशकै भरमा चलिरहेको छ।

बार एशोसियशनले केही दिनअघि नै एक साताभित्र प्रधानन्यायाधीश नियुक्ति नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। टिआरसीलगायत प्रधानन्यायाधीशको नियुक्तिका विषयमा छलफल गर्न सोमबार प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए।

त्यहाँ प्रधानन्यायाधीश नियुक्तिका विषयमा एमाले सहमत भए पनि टिआरसी विधेयक’bout भने समितिमै छलफलका लागि लैजानुपर्ने धारण एमालेले राखेको थियो। यही विषयमा केही बेरअघि बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक पनि बसेको थियो। उक्त बैठकपछि नै प्रधानमन्त्री प्रचण्डले शु्क्रबार संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेका हुन्।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ। हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन्।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन् । हाल कानुनमन्त्री पद पनि रिक्त छ ।

You May Also Like