एनआरएनएद्वारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

लण्डन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीद्वारा एक विज्ञप्ति गर्दै विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए ।

विज्ञप्तीमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम प्रमाणीकरण भएको यस नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौं गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उल्लेख छ ।

विज्ञप्ति अनुसार राष्ट्रपतिको कदमले ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि संघ विश्वस्त रहेको जनाइएको छ । ‘विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौ’ विज्ञप्तिमा भनिएको छ,’गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत यस कदमले ठोस् वातावरण तयार पार्ने विश्वास लिएका छौं।’

You May Also Like