कर्णालीः कांग्रेसले सिफारिस गर्याे तीन मन्त्रीकाे नाम

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा ‘ख’बाट निर्वाचित वेदराज सिंह र दैलेख(१ ‘ख’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन् ।

पोखरेल सामाजिक विकासमन्त्री, सिंह आर्थिक मामिला तथा योजनामन्त्री र बिसी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनेछन् ।

कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व आधा(आधा कार्यकाल गर्ने, २०७८ वैशाखमा भएको सहमतिअनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो ।

सो सहमति कार्यान्वयन गर्नका लागि मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । त्यसलगत्तै कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ ।

You May Also Like