जुम्लामा भाइरल ज्वरोबाट एकको मृत्यु, ५३ जना बिरामी

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ देयारपाटामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भएको छ । ५३ जना बिरामी परेका छन् । मृत्यु हुनेमा कनकासुन्दरी ७ देयारपाटा गाउँकी ६१ वर्षीया दिपु उपाध्याय हुन् । ज्वरोकै कारण जेठ ६ गते नै दिपुको मृत्यु भएको जन स्वास्थ सेवा कार्यालय जुम्लाले जनाएको छ ।

गाउँभरी भाइरल ज्वरोको प्रकोप बढेपछि वडाध्यक्ष तेजबहादुर जिसीले जनस्वास्थ्य सेवा कार्यालयमा खबर गरेका थिए । तत्काल कर्णाली विज्ञान प्रतिष्ठानको टोली दयारपाटा गाउँमा पुगेको छ । स्वास्थ्य टोलीले बिरामी ५३ जनाको उपचार गरेको जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सुमाइले बताए । उपचार गरिएका ५३ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको सुमाइले बताए ।

दुई जनालाई जुम्लाको सदरमुकाममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको छ । बिरामीहरूमा आँखाको नानी र टाउको दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण देखा परेको बताइएको छ। भाइरल ज्वरोले प्रभावित वडामा प्रतिष्ठानका डा विशाल रोकायासहित दुई जनाको टोली खटिएको छ ।

गाउँभरी नै भाइरल ज्वरोको संक्रमण बढेपछि भाइरल ज्वरो प्रभावित क्षेत्रमा जनस्वास्थ्य कार्यालयले ४ जना स्वास्थ्यकर्मी परिचालन गरेको हो ।

उक्त वडामा १ सय १५ घरधुरी छन् । प्रत्येकको घरघरमै पुगेर स्वास्थ्यकर्मीले जाँच गर्दै आएका छन् । गाउँमा अत्यधिक चिसो बढेका कारण स्थानीयमा रुघाखोकी ज्वरो, टाउको दुख्नेलगायत समस्या उत्पन्न हुनसक्ने भएकाले यसबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

उनीहरू सबैको कोरोना परीक्षण पनि गरिएको छ । स्थानीयले औषधि उपचार र स्वास्थ्य निगरानीमा कमी हुन नदिन आग्रह गरेका छन् ।

You May Also Like