मन्त्रि शाहीद्धारा सडक पूर्वाधारको अनुगमन

सुर्खेत । कर्णाली प्रदेशका भौतिक तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएसँगै प्रदेश सरकाद्वारा निर्माणाधीन बहुवर्षीय सडक पूर्वाधारका योजनाहरूको अनुगमन गरेका छन् । शनिबार दिनभर शाहीले दैलेख जिल्लाका विभिन्न ठाउँमा रहेका सडक, पुलहरूको अनुगमन गरेका हुन् ।

सुरुमा पालिकाको मुकामसम्म सडक पूर्वाधार पुर्‍याउने उद्देश्यसहित अगाडि बढाइएको माथिल्लो डुङ्गेश्वर–डाँडापुराजुल सडकको अवस्था बुझेका थिए । झण्डै ४० करोडको उक्त योजना सुर्खेत–दैलेख सदरमुकाम राजमार्गदेखि झण्डै ५ किलोमिटरको दुरी डाँडापराजुल जोड्ने सडक हो । सडकको ट्र्याक खोलिएको लामो समय भइसक्दा पनि यो सडक कालोपत्रे हुन् सकिरहेको छैन । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने उद्देश्यसहित यो सडकको अनुगमन गरिएको मन्त्री शाहीले जानकारी दिए ।

यो सडक प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाको सहकार्यमा अगाडि बढाइएको हो । उक्त परियोजनाले कर्णालीका विभिन्न जिल्लाका पालिकाहरूमा काम गरिरहेको छ । पालिकाको मुकामसम्म सडक नपुगेका स्थानीय तहका काम गर्ने उद्देश्यसहित यो परियोजना सञ्चालित छ । सोही अनुसार उक्त सडकमा प्रदेश सरकारको २० प्रतिशत र बाँकी रकम परियोजनाले खर्च गर्छ ।

परियोजनाका प्रमुख पवन चन्दका अनुसार केही ठाउँमा विवाद लगायतका कारण यसअघि यो सडक कार्यान्वयन हुन सकिरहेको थिएन । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने उद्देश्यसहित काम अगाडि बढेको उनले बताए । ट्र्याक खोलेको लामो समयसम्म पनि स्तोरन्नति र कालोपत्रे नहुँदा सडक पुरै जङ्गल जस्तो थियो भने पैदल हिँड्न पनि मुस्किल छ । मन्त्री शाहीले समस्या समाधान गरी तत्काल कार्य अगाडि बढाउन निर्देशन दिए ।

त्यसपछि लोहोरे खोला तरेर मन्त्री शाही माथिल्लो डुङ्गेश्वर, दुल्लु, बेउली हुँदै कालिकोट जोड्ने सडकको अनुगमन गरे । दुल्लुसम्म पुग्दा ठाउँ–ठाउँमा संघीय सडकले कालोपत्रे गरेको देखियो । यद्यपि कालोपत्रे नभएको ठाउँमा सडकको अवस्था नाजुक छ । उक्त सडकमा प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्रे गरिएको भने पनि उक्त कालोपत्रे उक्लिएर सडकको अवस्था दयनीय छ । उक्त सडक केही खण्डमा अहिले काम भइरहेको छ ।

मन्त्री शाहीले पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाको एउटा पुल र एक सडकको पनि अनुगमन गरे । वडा नम्बर ६ अन्तर्गत पर्ने मछ्याइना खोलाको पुल निर्माण हुन सकिरहेको छैन । कच्ची सडक बने पनि त्यहाँ पुल नहुँदा नागरिकहरूलाई समस्या भइरहेको त्यहाँ नागरिकले बताए । उक्त खोलामा पक्की पुल बनाउने तयारी छ । यद्यपि मन्त्री शर्माले पक्की पुल बनाउन वर्षौँ लाग्ने हुँदा तत्कालका लागि बेलिब्रिज निर्माण गर्न निर्देशन दिए । ‘बजेट पनि न्यून छ, पक्की पुल बनाउन करोडौँ रकम लाग्छ, रकमको स्रोत सुनिश्चित गर्न पनि गाह्रो हुन्छ, तत्कालको समस्या समाधानसहित बेलिब्रजि निर्माण गर्नुहोस्,’ पूर्वाधार विकास निर्देशनालय दैलेखका प्रमुखलाई निर्देशन दिँदैन भने,‘ पछि बिस्तारै पक्की पुल निर्माण गरौँला ।’

त्यसलगत्तै मन्त्री शाहीको टोली पश्चिम, दक्षिणमा रहेको साँगेतडा–डौँसुर हुँदै मध्यपहाडी जोड्ने सडकको अनुगमन गर्न लागे । करिब १२ किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा ३।३ किलोमिटर सडकको स्तोरन्नति गरिने छ । उक्त सडक पनि चामुण्डाबिन्द्रासैनी नगरपालिकाको मुकाम जोड्ने प्रमुख सडक हो । यो सडकमा विगतदेखिनै ठेक्का लाग्ने गरे पनि अहिलेसम्म कालोपत्रे हुन सकिरहेको छैन ।

पेट्रोलियम पदार्थ उत्खननको लागि उक्त सडक छोटो मार्ग हुने भएकाले प्रदेश सरकारले स्तोरन्नती गरिदिन लागेको हो । चालु आवमा ३ करोड बराबरको काम गर्ने गरी काम अघि बढ्दैछ । ८ मिटर चौडा गराउँदा डौँसुरमा केही घरहरू जाने देखिन्छ । जसका कारण त्यहाँ समस्या उत्पन्न भएको छ । मन्त्री शाहीले डौँसुर बजार क्षेत्रका नागरिकसँग पनि छलफल गरे । उनले भने,‘सडक निर्माण नागरिककै लागि गर्नुपर्ने हो, यसमा तपाईँहरुले सहजीकरण गर्नुपर्छ ।’

उक्त क्षेत्रमा १०–१२ वटा घरहरूलाई हटाउनुपर्ने छ । मन्त्री शाहीले ६ महिनाभित्र काम अघि बढ्ने गरी लाग्न निर्देशन दिए भने स्थानीय जनप्रतिनिधिले पनि सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । यो सडक अन्तर्गत एउटा मन्दिर समेत हटाउनुपर्ने छ ।

You May Also Like