सिञ्जामा सुत्केरीलाई पाँच हजार भत्ता

जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए ।

घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले रू पाँच हजार भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भई कार्यान्वयमा आएको उनको भनाइ थियो ।

बर्थिङ सेन्टरभन्दा टाढाका गाउँबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलालाई प्रोत्साहन स्वरुप भत्ता दिने गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनका अनुसार यहाँका २६ जना सुत्केरीलाई उक्त रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको छ ।
सिञ्जाका सबै वडामा प्रसूति गृह निर्माण भई सञ्चालनमा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

You May Also Like