मुगुको उत्तरी क्षेत्र सोरुमा खाद्य समस्या

सुर्खेत । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले कर्णालीका कुनै पनि ठाउँमा खाद्यान्न (चामल) अभाव नरहेको दाबी गर्दै प्रादेशिक कार्यालयमै करिब १३ हजार क्विन्टल खाद्यान्न मौज्दात रहेको बताएको थियो । तर, हिमाली जिल्ला मुगुमा भने खाद्यान्न अभाव भइरहेको बताइएको छ ।

विशेषगरी उत्तरी क्षेत्रमा पर्ने सोरु क्षेत्रमा खाद्यान्नको अभाव भएको त्यहाँका अगुवा नागरिकले बताएका छन् । सोरु गाउँपालिकाको सोरु डिपोमा आवश्यक चामल नभएको र चामल किन्न सोरुकोट खाद्य डिपोमा गएकाहरु खाली हात फर्कनुपरेको त्यहाँका नागरिकले बताएका छन् ।

चामल अभाव भएपछि स्थानीयहरु लाइन लागेर डिपोमा आउने गरेका छन् । यद्यपि आवश्यक चामल पाउन नसकेको स्थानीयको भनाइ छ । स्थानीयको भनाइ उद्धृत गर्दैै सोही गाउँपालिकाका सूचना अधिकारी प्रकाश मल्लले भने, ‘यहाँ रहेको डिपो एक जना कार्यालय सहयोगीको भरमा चलिरहेको छ, कर्मचारी कोही छैनन्, चामल वितरणमा समस्या छ ।’

स्थानीयले घरमा खाने अन्न सकिएपछि डिपोमा आउनुपरेको तर, डिपोमै चामल नभएपछि समस्या भएको बताएका छन् । ‘यहाँ उत्पादन भएको खाद्यन्नले वर्षभरि खान पुग्दैन, यहाँका सबै नागरिकको आर्थिक अवस्था पनि सबल छैन,’ मल्लले भने । विशेषगरी सोरु गाउँपालिका–६ को रावलबाडा भन्ने गाउँमा खाद्यान्नको समस्या छ । यो गाउँमा ३५ घरधुरी छन् भने विशेषरी दलित बस्तीमा खाद्यान्नको समस्या भएको त्यहाँका अगुवाले बताएका छन् ।

सोरु गाउँपालिकामा धान खेती हुँदैन । जेठ महिनामा गहुँ र जौ उत्पादन हुन्छ । यद्यपि त्यसले वर्षभरी खान नपुग्ने मल्ल बताउँछन् । यो पालिकामा १४ हजार २७७ जनसंख्या छ । तर, खाद्य व्यवस्थाले सीमित कोटा अनुसार चामल पठाउने भएकाले गाउँमा खाद्यान्न अभाव भएको देखिन्छ । डिपोमा स्वीकृत कोटाभन्दा माग बढी हुने भएकाले त्यहाँ खाद्यान्नको समस्या भएको हो ।

‘यहाँ समस्या वितरणको हो जस्तो लाग्छ, बर्खाको समय भएका कारण डिपोमा चामल पुग्ने बित्तिकै स्थानीयहरुको लाइन लागिहाल्छ । एकै पटक ठुलो संख्यामा उपभोक्ता आउने भएकाले डिपोमा आएको चामल पुग्दैन,’ सोरु गाउँपालिकाका उपाध्यक्ष केशर बहादुर शाहीले भने, ‘अहिले बजारको भन्दा खाद्य संस्थानको चामल सस्तो र गुणस्तरमा पनि राम्रो भएकाले नागरिकहरु खाद्य संस्थानको चामलतिर बढी आकर्षित छन् ।’

भोकमरी नै चल्ने गरी खाद्यान्न अभाव नभएको दाबी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने मुगुमा भोकमरी चल्ने गरी खाद्यान्नको अभाव नरहेको दाबी गरेको छ । शाखा कार्यालय मुगुका प्रमुख पुष्कर भाम मुगुमा कुनै पनि गाउँबस्तीमा खाद्यान्नको अभाव नभएको दाबी गर्छन् । ‘यद्यपि डिपोमा चामल पुग्दा एकै पटक सबै नागरिक आएर लाइन लाग्ने र अलि लामो समयका लागि नै मौज्दात राख्ने गरी लाने भएकाले आवश्यकता अनुसार चामल पुग्न नसकेको हुन सक्छ,’ उनले भने, ‘हामीले कोटा अनुसार चामल पठाउने हो, सबै ठाउँमा सबै जनतालाई हामीले कभर गर्न सक्दैनौँ । सीमित कोटा हुन्छ ।’

तर पनि मुगुमा खाद्यान्न अभाव भएर भोकमरी नै चल्ने अवस्था नरहेको उनको दाबी छ । बर्खाको समय भएकाले स्थानीयले पनि केही महिनाका लागि चामल खरिद गरी मौज्दात गर्ने भएकाले उनीहरुले चाहे अनुसार चामल पुर्याउन नसकिएको उनी बताउँछन् ।

मुगुमा १ हजार ३०० सय क्विन्टल चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको दाबी छ । ‘सोरुमा १५ सय क्विन्टल गमगढीबाट पठाउनुपर्ने थियो । एक हजार क्विन्टल सुर्खेतबाट आउनुपर्ने थियो । त्यसमा ८ सय क्विन्टल आएर वितरण भइसकेको छ । करिब ११ सय क्विन्टल गएको आव ०७९÷०८० मा वितरण भएको छ,’ मुगु शाखा प्रमुख भामले भने, ‘यो भनेको एक वर्षको बीचमा पटक–पटक आउने र वितरण गर्ने हो ।’

तर, गाउँपालिकाको जनसंख्यालाई आधार मान्ने हो भने यो कोटा कम हो । भामले ढुवानी कोटा पनि टुङ्गिएको र आर्थिक वर्ष पनि सकिएकाले समस्या भएको हुन सक्ने आकलन गरे । सोरु सडक सञ्जालले जोडिएको र सवारी साधन पुग्ने ठाउँ हो । उनका अनुसार स्वीकृत कोटाभन्दा बढी खपत भए जिल्लाको निर्णय अनुसार थप कोटा माग गरिन्छ । तर, आर्थिक वर्ष ०७८र०७९ मा खपत नभएर होल्ड भएको थियो । उनले सोरु डिपोमा कर्मचारी अभाव भएको स्वीकार गरे । भदौ, असोजतिर कर्मचारी आउने उनले बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले विगत जस्तो यो पटक कुनै जिल्लामा खाद्यान्न अभाव नरहेको बताएको छ । प्रादेशिक कार्यालयका प्रमुख मानव मिश्रले कर्णालीमा खाद्यान्नको अभाव नहुने गरी आफूहरु लागिपरेको बताए ।

मुगु बाहेक हुम्लामा ४ सय, जुम्लामा ८८०,जाजरकोटमा १ हजार २००, कालिकोटमा ४००, दैलेखमा ५०० र डोल्पामा ४ हजार र सुर्खेत जिल्लाका लागि ३ हजार ५ सय क्विन्टल चामल गोदाममा मौज्दात रहेको उनले बताए । मिश्रले नयाँ आर्थिक वर्ष सुरु भएसँगै थप चामल पठाउने काम सुरु हुने प्रस्ट पारे ।

You May Also Like