बजेटमा जनप्रतिनिधीको हालिमुहालीः ‘पिडितलाइ छायाँ, आसेपासेलाइ माया’

काठमाडौं। कालिकोटको शुभकालिका गाउँपालिका वडा नं। ३ भर्ता संज्यालवाडामा खाना पकाउने क्रममा पुस ८ गते शुक्राबार प्रेसर कुकर पड्किएर घाइते भएकी हरिसोभा परियार र उनका छोरासहित देवरका छोरा घाईते भएपनि गाउँपालिकाले उपचार खर्च उपलब्ध नगराएको पाइएको छ ।

उक्त घटनामा परियार र उनका १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका छोरा वर्ष १० का लोकेन्द्र परियार परेका थिए । वडा नम्बर तीनका वडाअध्यक्ष प्रकाश बहादुर शाहीले उक्त घटनामा परेकाहरुका लागि व्यक्तिगत रुपमा सहयोग गरिएको भएपनि पालिका तथा वडाबाट हालसम्म कुनैपनि आर्थिक सहयोग उपलब्ध नगराइएको बताए ।

‘म त्यतिबेला बाहिर थिएँ । वडा तथा पालिकाबाट हामीले कुनैपनि आर्थिक सहयोग भने गर्न सकेका छैनौं । यद्यपी व्यक्तिगत रुपमा भने म लगायत पालिकाका धेरै नागरिकले सहयोग गरेका थियौं ।’ उनले भने, ‘उहाँहरुको सुरुमा प्राथमिक उपचार भएको मेडिकलमा सात आठ हजार उधारो तिर्न बाँकी छ । म उपचार खर्चबाट त्यो तिर्ने प्रतिबद्धता जनाउँदछु ।’

तर गाउँपालिकाका उपाध्यक्ष धर्मा शाहीका श्रीमान नेपाली काँग्रेस कालिकोटका उपसभापति नन्दबहादुर शाही ‘घमन’का लागि भने गाउँपालिकाले एक लाख पचास हजार रुपैंया भुक्तानी दिएको पाइएको हो ।

सत्ता र शक्तिको आडमा उपाध्यक्ष शाहीले विपन्न वर्गले पाउने सेवा सुविधा काटेर श्रीमानको उपचारका लागि भन्दै सो रकम भुक्तानी दिलाउन सफल भएकी हुन ।

‘उहाँको श्रीमानलाई पत्थरी देखिएको थियो । उनको उपचार काठमाडौंको केएमसी अस्पतालमा भएको हो ।’ पालिका स्रोतले नेपाली रैबारलाई भन्यो, ‘उनले बढि भन्दा बढि रकम माग गरेकी थिईन तर गाउँपालिकासँग बजेट नभएको भन्दै पालिकाले डेढ लाख रुपैंया सहयोग गरेको हो ।’

उपाध्यक्ष शाहीको परिवार सम्पन्न परिवार हो । उनको कालिकोटको सदरमुकाम मान्ममा घर समेत छ । उनले उक्त उपचार खर्च सहजै जुटाउन सक्ने भएपनि गाउँपालिकाको निर्णय विपरित उक्त रकम भुक्तानी दिएको हो ।

गाउँपालिकाले गरेको निर्णयमा अति विपन्न, अशक्त, असहायलाई उपचार खर्च दिने उल्लेख छ । उक्त निर्णयमा ‘पालिका अध्यक्षले स्वविवेकीय अधिकार प्रयोग गरि विरामीको अवस्था हेरेर १० हजार देखि बढीमा १५ हजार रुपैंया उपलब्ध गराउन सक्ने’ उल्लेख छ ।

यस’boutमा प्रतिक्रिया लिन खोज्दा प्रमुख प्रशासकीय अधिकृत गणेश शाहीको मोबाईल बन्द छ भने उपसभापति शाहीको नम्बरमा फोन सम्पर्क हुन सकेन ।

यता, पालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले यस’boutमा प्रतिक्रिया दिन चाहेनन् ।

वरिष्ठ अधिवत्ता कृष्णबहादुर हमालले सत्ता र शक्तिको आडमा त्यस्तो गर्न नहुने बताए । ‘पालिकाका पदाधिकारी भएको खण्डमा निर्णय गरेर उपचार खर्च दिन सकिन्छ । तर उहाँ आर्थिक रुपमा कमजोर नभएका व्यक्तिलाई त्यसरी खर्च दिनु र आगोले जलेका अति विपन्न परिवारलाई दश हजार समेत नदिनु भनेको राम्रो होइन । यो गलत नै हो ।’

उनले राजनीति गर्नेहरुले नैतिकता देखाउनुपर्नेमा जोड दिए ।

You May Also Like