नेफ्टा अवार्ड फेरि स्थगित

काठमाडौँ । चलचित्र प्राबिधिक संघले जुलाई २२ (६ साउन) मा अमेरिकाको टेक्ससमा आयोजना गर्न लागेको फिल्म अवार्ड ‘नेफ्टा फिल्म अवार्ड’ स्थगित भएको छ । अवार्डका लागि आवश्यक तयारी नपुगेकोले अहिलेलाई अवार्ड स्थगित गरिएको आयोजक चलचित्र प्राविधि सङ्घका अध्यक्ष पुष्कर लामाले बताए । ‘अवार्ड अहिलेलाई स्थगित गरिएको छ । छिट्टै पत्रकार भेटघाट गर्दै नयाँ मिति घोषणा हुन्छ’ लामाले भने ।

नेपाल चलचित्र प्राविधिक सङ्घको आयोजनामा नियमित आयोजना हुँदै आएको अवार्ड यो पटक अमेरिकामा हुन लागेको हो । अमेरिकामा अवार्ड गर्ने घोषणा समय देखिनै विभिन्न विवादमा फस्दै आएको अवार्ड स्थगित भएको यो दोस्रो पटक हो । यसअघि अवार्ड जेठ १३ गतेबाट सरेर साउन ६ मा आएको थियो ।

अवार्डको मनोनयनमा चित्त नबुझेका कारण अमेरिकास्थित अवार्डको स्थानीय आयोजक मध्यको एक आर्यन फिल्मस्ले अवार्डबाट हात झिकेपछि अवार्ड विवादमा पर्दै आएको छ । अवार्डमा सहभागी हुन भिसा प्रक्रियामा पठाइएको नाममा अनधिकृत व्यक्तिको प्रवेश भएको भन्दै आर्यन फिल्मस्ले हात झिकेको हो ।

अवार्डको उत्कृष्ट ५ को सुची भने आयोजकले केही अगाडि होटेल सोल्टीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरेको थियो । २०७९ सालभित्र प्रदर्शन भएका फिल्मलाई ४२ विधामा अवार्ड बाँड्ने तयारी आयोजकले गरेको थियो । यस अगाडि नेफ्टा अवार्ड युएई, मलेसिया, हङकङ र कतारमा आयोजना भएका थिए ।

अवार्डको सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री विधाको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारले प्रदान प्रचार आयोजकले गरेको थियो ।

You May Also Like