बाढी–पहिरोबाट ३ वटा राजमार्ग अवरूद्ध, १५ वटा एकतर्फी

काठमाडौं । मनसुनजन्य विपद् (बाढी-पहिरो) का कारण ३ वटा राजमार्ग अवरूद्ध बनेका छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।

आज बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा अवरूद्ध छ। त्यो राजमार्ग असारको पहिलो सातादेखि नै सञ्चालनमा आउन सकेको छैन।

त्यस्तै तमोर करिडोरअन्तर्गत् चतरा-मूलघाट-माझीछार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक माझीटारमा अवरूद्ध छ ।

त्यस्तै, बेनी जोमसोम कोरला सडक योजनाअन्तर्गत्को कालिगण्डकी करिडोर पनि बैसरी, नौनी बगर, तातोपानी, गुइँठे आदि ठाउँमा अवरूद्ध छ।

अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ।

मनसुनजन्य विपद्का कारण राजमार्ग बिग्रिए, भत्किएर अहिलेसम्म २४ करोड ९६ लाख बराबरको क्षति भइसकेको सडक विभागको अनुमान छ।

You May Also Like