पल शाह प्रकरण : गायिकाले फेरीन बयान

रारा सञ्चार,
काठमाडौं, ४ वैशाख ।
अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा हालेकी नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।

पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको बयान दिएकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी रहेको जनाइएको छ । नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्वीस्ट आएको छ । उनको बकपत्रले पल शाह पक्षमा खुशीयाली छाएको छ । यसबीचमा पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका गरिएका छन् ।

उनको पक्षबाट गएका एक वकिलले भने, ‘होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिएँ त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीन पटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् । बयान फेरेको अवस्थामा अदालतले ६ वर्षसम्म कैद गर्ने कानूनी व्यवस्था रहेको कानुनका जानकार बताउँछन् ।

पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको थियो ।

अदालतको आदेशपछि अहिले उनलाई त्यसअघि आदेश भएको तनहुँ कारागार लगिएको थियो । अब नवलपुर अदालतमा शाहको बकपत्रका वैशाख ७ गते हुँदैछ । त्यसअघि तनहुँमा आइतवारदेखि बकपत्र भएको हो ।

नाबालिग गायिका बलात्कारको आरोपमा उनलाई त्यसअघि जिल्ला अदालत तनहुँले पनि चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उनी कारागार कार्यालय तनहुँमा थिए । २०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो । गत फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

तिनै गायिकाले गैंडाकोटमा पनि आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएपछि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा दर्ता भएको थियो । शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले चैत ३ गते मुद्दा दायर गरेको थियो ।

तनहुँ अदालतबाट भएको आदेशविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरिसकेका छन् । उनको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले यससम्बन्धी कैफियत प्रतिवेदन झिकाइसकेको छ ।

You May Also Like