अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण सुरु हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ ।

सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन् । उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन् ।

चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले जानकारी दिए । “शुरुमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ”, उनले भने, “मौसम विवरणअनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले सायद आरोहण निरन्तर अघि बढ्छ होला ।”

अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । सो क्षेत्रमा हावाका साथै हिमपात भइरहेको छ । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधार शिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताए । “उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधार शिविर फर्किरहेका छन्”, उनले भने, “मौसम खुलेपछि सबै आरोहीको सगरमाथा क्षेत्रमा जाम हुन्छ ।”

आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी० र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ ।

सगरमाथाको दोस्रो शिविरसम्म एसपिसिसीले बाटो बनाएको थियो । पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टरहरू सगरमाथाको आधार शिविरमा फर्किएका छन् । मौसम अनुकूल हुनेवित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ ।

You May Also Like