हुम्लाका किसानलाई पाँच हजार कागतीका बिरुवा

सिमकोट । व्यावसायिक खेतीका लागि किसानलाई कागतीका विरुवा वितरण गरिएको छ। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका कागती खेतीका लागि बढी सम्भावना भएको तर हालसम्म खेती सुरु नगरिएका कारण गाउँपालिका अध्यक्ष लालकेश जैसीको अगुवाइमा कागतीका बिरुवा वितरण गरिएको हो।


गाउँपालिका क्षेत्रभित्रको माटो परीक्षण गर्दा कागती खेतीका लागि बढी सम्भावना देखिएको पाइएपछि यस वर्षबाट व्यावसायिक कागती खेती सुरु गरिएको अध्यक्ष जैसीले बताए।

यसका लागि सल्यान जिल्लाबाट पाँच हजार कागतीका बिरुवा ढुवानी गरी ल्याएर पकेट क्षेत्र बनाई किसानलाई समूहगत र ब्यक्तिगत रुपमा वितरण गरिएको हो।

फलफूल लगाएर उत्पादन वृद्धि गरी किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसाथ यो कार्यक्रम गाउँपालिकाले सञ्चालन गरेको हो।

उनले अमिलो मात्र लगाउने गरेका किसानले कागती खेतीसमेत गर्न थालेको जानकारी दिए। खेतीका लागि जग्गाको अन्य व्यवस्था किसान आफैँले गर्नुपर्ने र एक जना किसानलाई ५० बोटसम्म बिरुवा उपलब्ध गराइएको छ।

यसबाट किसान लाभान्वित भएका छन्। गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि लिएको खेतबारीमा फलफूलका बोट, आर्थिक समृद्धिका लागि उत्पादनमा जोड भन्ने नीतिलाई सार्थक तुल्याउन र कार्यान्वयन गर्न पनि अहिलेबाटै थालनी सुरु गरिएको जनाएको छ।

गत वर्षबाट ताँजाकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। बाहिरबाट सामान ढुवानीसहित आउने गाडी हाल रित्तै जाने गरेको र फलफूल खेतीलाई व्यावसायिक खेती गरेर उत्पादन वृद्धि गर्न सके बाहिर निर्यात गर्न पनि सहज हुने उनले विश्वास व्यक्त गरे।

You May Also Like