सुर्खेतः गुर्भाकोटमा इलाका प्रशासन

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गुर्भाकोट नगरपालिका –७ मेहेलकुनामा इलाका प्रशासन कार्यालयको प्रारम्भ भएको छ। नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले शनिवार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेका हुन् ।

यसअघि वीरेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिइरहेका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबेसी नगरपालिका र भेरीगंगा नगरपालिकाका नागरिकले अब मेहेलकुनाबाटै सेवा लिन पाउने छन् ।

उपप्रधानमन्त्री खड्काले प्रशासनिक सेवा प्रारम्भ गर्ने मतदातालाई दिएको प्रतिबद्धता पूरा गरिएको बताए । सेवा प्रारम्भ दिनको अवसरमा दुईओटा नागरिकता समेत वितरण गरिएको छ। स्थानीय रोशनी शर्मा र प्रेरणा शर्माले नागरिकता प्राप्त गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आवश्यकता अनुसार आम नागरिकलाई समेट्ने किसिमका योजनाहरू समावेश गरिने बताए ।

रोजगारी सिर्जना गर्न कर्णाली समृद्धि अभियान अन्तर्गत १० हजारलाई रोजगारी दिई स्वरोजगार बनाउने प्रदेश सरकारको योजना रहेको जानकारी दिए । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सरकारप्रति नागरिकको अपेक्षा ठुलो हुनु स्वाभाविक भएको बताउँदै आवश्यकताअनुसार सेवा पहुँच प्राप्त होस् भनी इलाका प्रशासन कार्यालयको सुरुवात भएको बताए ।

भाडाको घरबाट सेवा प्रारम्भ गरेको प्रशासन कार्यालयका लागि आगामी केही वर्ष भित्रै आफ्नै भवन निर्माण गरिदिने मन्त्री जिसीले प्रतिबद्धता जनाए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सो कार्यालयबाट प्रशासनिक कार्यहरू अन्तर्गत नागरिकता र सिफारिसका कामहरू सञ्चालन हुने बताए ।

You May Also Like