नेरखोला जलविद्युत् आयोजना मर्मत नहुदा समस्या

मुगु । सोरु गाउँपालिका–५ स्थित नेरखोला जलविद्युत् आयोजना लामो समयदेखि मर्मत नहुँदा करिब ७ सय परिवार अँध्यारोमा रात बिताउन बाध्य छन् । उक्त जलविद्युत् आयोजनाको जेनेटर मेसिनमा समस्या उत्पन्न भइ विद्युत् अवरुद्ध हुँदा मुगु नेर, तााजा गाउँका दुई सय परिवार र हुम्ला जैर गाउँका ५ सय परिवार गरी ७ सय परिवार अँध्यारोमा रात बिताउन बाध्य छन् ।

नेरखोला जलविद्युत् आयोजनाबाट करिब ६५ किलोवाट विद्युत् उत्पादन भइ मुगु नेर, ताँजा गाउँ र हुम्ला जैर गाउँ बत्तीले झिलिमिलि हुँदा स्थानीय खुशी भएका थिए ।

गत मंसिरदेखि विद्युत् सेवा बन्द हुँदा लाभान्वित स्थानीय चिन्तित देखिएका छन् । विद्युत् बन्द हुँदा अँध्यारोमा रात बिताउनु पर्ने अवस्था आएको नेर गाउँका कलिमान नेपालीले बताए । उनले भने, ‘पहिले बत्ती बल्दा खुशी भयौं, अहिले बन्द हुँदा दुःख छौं ।’

बत्ती अवरुद्ध भएपछि दियालो बाल्नु पर्ने अवस्था आएको नेर गाउँका चिनबहादुर शाहीले दुखेसो पोखे । मर्मत कार्यमा ढिलाइ हुँदा मुगु नेर, ताँजा र हुम्ला जैर गाउँका स्थानीय मर्कामा परेको उनको भनाइ छ । नेरखोला जलविद्युत् आयोजनामा दक्ष अपरेटर नहुँदा समस्या देखिएको छ ।


विद्युत्‌को समान्य मेसिनमा गडबडी भइ विद्युत् बन्द हुँदा जिल्ला बाहिरबाट मिस्त्री बोलाएर बत्ती मर्मत गर्नुपर्ने अवस्थाले गर्दा झन् समस्या देखा परेको छ ।

दक्ष अपरेटरको अभावले गर्दा समान्य मेसिन बिग्रिए पनि जिल्ला बाहिरबाट मिस्त्री झिकाएर बत्ती मर्मत गर्नु पर्दा खर्चको भार खेप्नु परेको अपरेटर हरिबहादुर शाहीले बताए । भने,’मलाई विद्युत् मर्मतको तालिम गर्न आवश्यक छ’ उनले भने,’कुन ठाउँमा के बिग्रियो मलाई थाहा हुँदैन शाहीले भने बाहिरबाट मिस्त्री नआउँदासम्म विद्युत् सेवा बन्द हुने गरेको छ ।’ नेरखोला विद्युत् सेवा मर्मतको लागि पहल भइरहेको वडाअध्यक्ष पृथ्वीबहादुर मल्लले बताए ।

प्राविधिक समस्याले गर्दा लामो समयदेखि मुगु नेर ताँजा र हुम्ला जैर गाउँका स्थानीय अन्धकारमा रात बिताउनु पर्ने अवस्था उत्पन्न भएको वडाअध्यक्षको भनाइ छ ।

You May Also Like