साफ च्याम्पियनसिप: भारतविरुद्ध गर या मर

बैंगलुरु । १४औं संस्करणको साफ च्याम्पियनसिपमा आफ्नो दोस्रो खेलमा नेपालले शनिबार घरेलु टोली भारतसँग खेल्दैछ ।

बैंगलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भारत विरुद्ध उत्रँदा नेपाल गर या मरको अवस्थामा छ ।पहिलो खेलमा कुवेतसँग पराजित भएको नेपाललाई सेमिफाइनल पुग्ने संभावना कायम राख्न भारतसँगको हार टार्नु पर्ने छ ।

भारतसँग पराजित भएमा भने नेपालको समूह चरणमै बाहिरिने डर हुनेछ ।

नेपाल पहिलो खेलमै कुवेतसँग ३-१ ले पराजित भएको थियो । अर्को खेलमा भारतले सुनिल क्षेत्रीको ह्याट्रिक मदतमा पाकिस्तानलाई ४(० ले हराएर सानदार सुरुवात गरेको थियो ।

पछिल्लो समय भारतले फुटबलका घरेलु संरचना लगायत धेरै सुधार गरिसकेको छ । साफ च्याम्पियनसिपलाई भारतले धेरै महत्व नै दिन छाडेको छ । यसको उदाहरण अहिले भइरहेको साफलाई पनि हेर्न सकिन्छ ।

साफ अघि ओडिशामा भएको इन्टरकन्टिनेन्टल कपलाई भारतले ठूलो महत्व दिएको थियो । जहाँ भारतले लेबनानलाई हराएर उपाधि जितेको थियो ।

२०२२ सेप्टेम्बरमा ट्राई सिरिजमा भियतनामसँग ३-० ले हारेयता भारत ७ खेलमा अपराजित छ । भारतले यी सातै खेलमा गोल खाएको छैन । ट्राई नेसन्स कपमा म्यानमार र कीर्गिस्तानलाई पराजित गरेको भारतले इन्टरकन्टिनेन्टल कपमा भानुआटु, मंगोलिया र लेबनानलाई हराएको थियो भने लेबनानसँग अर्को खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यस्तै साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध क्लिनसिट राख्दै जित निकाल्यो ।

नेपाल भने पछिल्लो दुई खेलमा पराजित भएको छ । त्यसअघि नेपाल लगातार पाँच खेलमा अराजित थियो ।

२०२२ सेप्टेम्बरमा बंगलादेश विरुद्ध र नोभेम्बरमा पाकिस्तान विरुद्ध मैत्रीपूर्ण खेलमा विजयी भएको नेपालले गत मार्चमा काठमाडौंमै भएको थ्री नेसन्स कपमा लाओसलाई हराउँदै उपाधि जितेको थियो । जहाँ नेपालले तीन खेलमा अपराजित थियो ।

साफ च्याम्पियनसिपका लागि बैंगलुरु आउनुअघि १५ जुनमा फिलिपिन्समा खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

त्यसपछि साफको पहिलो खेलमा नेपाल आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलेको कुवेतसँग ३-१ ले पराजित भएको थियो ।

नेपालले पहिलो हाफमा कमजोर प्रदर्शन गर्दा हार बेहोर्‍यो । दोस्रो हाफमा अन्जन विष्टले गरेको एक गोल नै नेपालको लागि सकरात्मक उपलब्धि रह्यो । यस्तै अनन्त तामाङले नेपालका लागि ५० क्याप पूरा गरे ।

‘भारत विरुद्धको खेल फाइनल जस्तै’

पहिलो खेलमा कुवेतसँग पराजित भएपछि नेपालका लागि सेमिफाइनल पुग्न अब समूह चरणका भारत र पाकिस्तान विरुद्ध दुवै खेल जित्नुपर्ने अवस्था छ ।

त्यसैले कुवेतसँग खेलपछि नै नेपालका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले भारत विरुद्धको खेल फाइनल जस्तै हुने प्रतिक्रिया दिएका थिए । उनले भारतमा आफूले तीन वर्ष काम गरिसकेकोले भारतसँगको खेल भावनात्मक हुने बताएका थिए ।

कुवेत विरुद्ध पहिलो हाफमा डारएर खेलपनि दोस्रो हाफको प्रदर्शनको विश्लेषण गर्दै अब नेपालले कसैसँग डराएर खेल्नु नपर्ने बताए ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाक भने नेपाल विरुद्धको खेलमा टचलाइनमा हुने छैनन् । पाकिस्तान विरुद्धको पहिलो खेल खेलाडीसँगको तनावपछि उनले सिधै रातो कार्ड पाएका थिए ।

पाकिस्तानलाई हराएपछि भारतका सहायक प्रशिक्षक महेश गवलीले नेपाल राम्रो टिम भएको र राम्रो खेलको अपेक्षा राख्ने बताएका थिए ।

‘नेपाल राम्रो टिम हो र कुवेतसँग राम्रो खेलेको थियो । हामी नेपालसँग राम्रो खेलको अपेक्षा राखेका छौं’, प्रशिक्षक महेशले नेपाल विरुद्धको खेल ’bout सोध्दा छोटकरीमा भने ।

नेपाल भर्सेस भारत हेड टु हेड

नेपालले भारतसँग खेल्दा जुनै सुकै खेलमा पनि त्यसमा प्रतिष्ठा जोडिएको हुन्छ । भारतले नेपाललाई आफ्नो प्रतिद्वन्दी नमाने पनि नेपालका लागि भने भारतलाई हराउनु ठूलो विषय बन्नेछ ।

तर अहिलेसम्मको इतिहास हेर्दा भने भारतविरुद्ध नेपालको प्रदर्शन नतिजाका आधारमा कमजोर छ ।

अहिलेसम्म नेपाल र भारतबीच कूल २४ खेल भएको छ । जसमा नेपालले जम्मा ३ खेल मात्र जित्न सकेको छ । त्यसमा पनि निर्धारित ९० मिनेटमा नेपालले भारतलाई एक पटक मात्र पराजित गरेको छ ।

१९९३ को दक्षिण एसियाली खेलकुदको फुटबलमा नेपालले पेनाल्टीसुटआउटमा भारतलाई हराएर स्वर्ण जितेको थियो भने २०१३ मा भएको साफ च्याम्पियनसिपमा काठमाडौंमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो ।

२००६ को एएफसी च्यालेन्ज कपमा नेपालले भारतलाई ३-० ले पराजित गरेको थियो । तर उक्त खेलमा भारतले यू-२३ को टिम खेलाएको थियो ।

साफ च्याम्पियनसिपमा मात्र नेपाल र भारतबीच कूल ८ खेल भएको छ जसमा नेपालले १ खेल मात्र जितेको छ ७ खेलमा पराजित भएको छ । नेपालले २०१३ मा भारतलाई काठमाडौंमा भएको साफमा हराएको थियो ।

अर्कोतर्फ नेपालले भारतलाई भारतमै आएर अहिलेसम्म हराउन सकेको छ । भारतीय भूमिमा नेपालले ८ पटक खेल्दा दुई पटक बराबरी खेल्नु नै नेपालको लागि राम्रो नतिजा हो ।

२०१२ मा नयाँ दिल्लीमा भएको नेहरु कप र २०१५ मा पुनामा भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेको थियो ।

You May Also Like