ए डिभिजन लिगमा थ्री स्टार र आर्मीको बराबरी

काठमाडौँ | सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ६९ औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै थ्री स्टारले १८ खेलमा २६ अंक जोडेको छ । आर्मीले १८ खेलमा २५ अंक जोडेको छ ।

त्यस्तै मंगलबार नै च्यासल मैदानमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

पुलिसको जितमा मोसेस ग्याबाह तुमले खेलको ६१ औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिसले १८ खेलमा २२ अंक जोडेको छ । एपीएफले १८ खेलमा २२ अंक नै जोडेको छ ।

You May Also Like