आइपिएलमा सन्दीपको बोली लाग्ने सम्भावना कति ?

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताका लागि सुरु भएको खेलाडी अक्सन (बोलकबोल) मा पहिलो दिन शनिबार नाम चालेका स्टार खेलाडी बिक्न सकेनन्।

वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलदेखि इंग्ल्यान्डका कप्तान जोय रुट, अफ्रिकाका हसिम अमलाका लागि कुनै पनि टिमले बोली लगाएनन्। यी धुरन्धर क्रिकेटरका लागि आइपिएल टिमले चासो नदेखाएको अवस्थामा नेपाली क्रिकेट समर्थकको चासो भने राष्ट्रिय टिमका युवा स्पिनर सन्दीप लामिछानेमाथि छ।

आइपिएलको अक्सन सूचीमा रहेका सन्दीपको नाम आइतबार आउनेछ। आइपिएलका आठ टिममध्ये एक टिमले सन्दीपका लागि बोली लगाए उनी आइपिएलका लागि छनोट हुने पहिलो नेपाली खेलाडी बन्नेछन्।

५ सय ७८ जनाको अक्सन सूचीमा सन्दीप २ सय ७८ नम्बरमा छन्। अक्सन सूचीमा ७० जना क्याप्ड खेलाडी छन् भने बाँकी अनक्याप्ड छन्। सन्दीप अनक्याप्ड क्याटागोरीमा छन्। आइपिएलको नयाँ नियम अनुसार अनक्याप्ड खेलाडीले कम्तीमा २० लाख भारु (३२ लाख रुपैयाँ) पाउनेछन्।

आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्।

आइपिएल अक्सनको पहिलो दिन रोयल च्यालेन्जर्स बैंग्लोरले ६ विदेशीसहित १४ जना खेलाडी टिममा भित्र्याएको छ। यस्तै, कोलकता नाइट राइडर्सले ४ विदेशीसहित १२ खेलाडी, किंग्स इलेभेन पञ्जावले ३ विदेशीसहित १० खेलाडी, चेन्नई सुपरकिंग्सले ४ विदेशीसहित ११ खेलाडी समावेश गरेका छन्।

यस्तै, दिल्ली डेयर डेभिल्सले ५ विदेशीसहित १५ खेलाडी, राजस्थान रोयल्सले ५ विदेशीसहित ९ खेलाडी, मुम्बई इन्डियन्सले ३ विदेशीसहित ९ खेलाडी र सनराइजर्स हैदरावादले ५ विदेशीसहित १६ खेलाडी भित्र्याएको छ। बाँकी खेलाडी आबद्ध गर्न आइतबार अक्सन हुनेछ।

यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) र  बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए।

पहिलो चरणमा घोषणा गरिएका ११ सय खेलाडीको सूचीमा भने सन्दीप थिएनन्। तर, सन्दीप लगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो। सन्दीपको नाम आइपिएलको अक्सन सूचीमा राख्न नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सिइओ भावना घिमिरले विशेष पहल गरेकी थिइन्। घिमिरेले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र आइपिएल व्यवस्थापन कम्पनी इन्टरनेसनल म्यानेजमेन्ट ग्रुपमा कुरा गरेपछि सन्दीपको नाम अक्सन सूचीमा राखिएको हो।

भावनाको पहलपछि अक्सन सूचीमा परेका सन्दीपका लागि आइपिएल टिम राजस्थान रोयल्सका पूर्व प्रशिक्षक मोन्टी देसाईले पनि कुरा अघि बढाएको स्रोतले दाबी गरेको छ। अहिले पनि देसाई राजस्थान रोयल्सको व्यवस्थापनसँग नजिक छन्। देसाईले सन्दीपको आइपिएलमा पर्ने सम्भावना बलियो भएको बताउँदै सकारात्मक प्रतिक्रिया दिएको बुझिएको छ। 

देसाईले तीन महिनाअघि नेपालको यू–१९ टिमको कन्सल्ट्यान्ट प्रशिक्षक भएर काम गरेका थिए। त्यस क्रममा उनले सन्दीपको खेल नजिकबाट नियालेका थिए।

 

साभारः 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like