कोहली र डु प्लेसिसले जिताए बैंगलोरलाई, प्लेअफ सम्भावना कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको बिहीबार राति खेलिएको महत्वपूर्ण खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको छ । जितसँगै बैंगलोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

महत्वपूर्ण खेलमा जित हासिल गरेसँगै बैंगलोरले प्लेअफ चरणमा पुग्ने सम्भावना पनि कायमै राखेको छ । बैंगलोरले हालसम्म १३ खेल खेलेर १४ अंक जोडेको छ । बैंगलोरले लिग चरणको आफ्नो अन्तिम खेल ‘लिग लिडर’ गुजरात टाइटन्ससँग खेल्नेछ ।

उक्त खेल बैंगलोरको घरेलु मैदानमा मे २१ तारिखमा खेलिने छ । प्लेअफ चरणमा पुग्न बैंगलोरले उक्त खेल पनि जित्नु आवश्यक छ । हालसम्मको प्रदर्शनलाई हेर्दा गुजरात निकै बलियो टोलीको रुपमा देखा परेको छ । ९ खेल जितेको गुजरातले हालसम्म ४ खेलमात्र हारेको छ ।

हैदराबाद भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । १३ खेलबाट ८ अंक जोडेको हैदराबाद तालिकामा सबैभन्दा तल छ । हैदराबादले आफ्नो अन्तिम खेल मुम्बई इन्डियन्ससँग मे २१ तारिखमा खेल्नेछ । हालसम्म गुजरातले मात्र प्लेअफ चरणमा स्थान बनाउन सकेको छ ।

बिहीबार राति खेलिएको खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बैंगलोरले १९।२ ओभरमा केवल २ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

बैंगलोरको जितमा विराट कोहली र कप्तान फाफ डु प्लेसिस नायक बने । टोलीका लागि कोहलीले १ सय रनको योगदान गरे भने डु प्लेसिसले ७१ रन बनाए । यी दुबै अनुभवी ब्याट्सम्यानले ओपनिङ विकेटका लागि १ सय ७२ रनको साझेदारी गरेका थिए ।

कोहलीले केवल ६३ बलको सामना गरी ४ छक्का र १२ चौका हिर्काएका थिए । डु प्लेसिसले भने ४७ बलको सामना गरी २ छक्का ७ चौका प्रहार गरेका थिए । ४ बल अगावै टोलीले विजयलक्ष्य पार गर्दा ग्लेन म्याक्सवेल अविजित ५ र मिचेल ब्रासवेल अविजित ४ रन बनाउँदै क्रिजमा थिए ।

हैदराबादका बलर भुवनेश्वर कुमार र थंगारासु नटराजनले १÷१ विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ गरेको हैदराबादका लागि विकेटकिपर ब्याट्सम्यान हेनरिच क्लासेनले सतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।

चौथो नम्बरमा क्रिज समाल्न आएका क्लासेनले टोलीका लागि १ सय ४ रनको योगदान गरेका थिए । उनले केवल ५१ बलको सामना गरी ६ छक्का र ८ चोका पनि प्रहार गरे । ह्यारी ब्रुकले अविजित २७ रन जोडेका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन ।

हैदराबादले केवल २८ रनको कुल स्कोरमा आफ्ना दुबै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो । बैंगलोरका बलर मिचेल ब्रासवेलले २ विकेट लिए । उक्त खेलमा बैंगलोरका विराट कोहली म्यान अफ दि म्याच घोषित भए ।

You May Also Like