यु १९ एसिया कप छनौट क्रिकेट : नेपालले भुटानलाई ९ विकेटले हरायो

उन्नाइस वर्षमुनिको एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत नेपालले भुटानलाई ९ विकेटले हराएको छ । भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ अोभर ३ बलमा एक विकेट जाँदा पूरा गरेको हो ।

नेपालका सन्दिप सुनारले २६ बलमा २१ रन, अाशिफ शेखले २१ बलमा अविजित २३ रन साथै  अनिल कुमार शाह ५ बलमा ४ रन अविजित रहे । मलेसियामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

 

नेपालका दिपेन्द्र सिंह ऐरीले पाँच, सन्दिप लामिछानेले चार साथै नन्दन यादवले एक विकेट लिएका छन् । नन्दनले तेस्रो ओभरमा भुटानका ओपनर जीवन घल्लेलाई एक रनमा आउट गरेका हुन् ।

दिपेन्द्रले ९ औँ ओभरमा दुई र १९ औँ ओभरमा दुई साथै २१ औँ ओभरमा एक विकेट लिएका हुन् । सन्दिप लामिछानेले २४ औँ ओभरमा एक र २६ औँ ओभरमा दुई साथै २८ अाै अोभरमा एक गरेर चार विकेट लिएका छन् । भुटानका युग्येन दोर्जीले ४३ बलमा १३ रन साथै टासी फुन्टशोले ६५ बलमा १६ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । समान दुई दुई खेल जितेका सिंगापुर र नेपालको चार चार अंक भए पनि नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा पुगेको हो । नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनको अन्तरले हराएको थियो । पहिलो खेलमा भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल बलियो टिमको रुपमा हेरिएको छ । तीनवर्ष अघि एसियाली क्रिकेट परिषदको पुनर्संरचना भएपछि नयाँ संरचनाको रुपमा यो प्रतियोगिता भएको हो । एसियाली क्षेत्रमा यसअघि यस खालको एउटै प्रतियोगिता हुँदै आएकोमा अहिले भने दुई क्षेत्र बनाएर प्रतियोगिता गरिएको हो । नेपालसहित ८ देश पूर्वी क्षेत्रमा छन् भने अफगानिस्तान, युएई, कतार, ओमान, साउदी अरेबिया, माल्दिभ्स, बहराइन, इरान र कुवेत पश्चिमी क्षेत्रमा छन् ।

नेपालले सन् २००७ मा १९ वर्षमुनिको एसिसी एलिट कपको उपाधि जितेयता उपाधि जित्न सकेको छैन । त्यसपछि दुई पटक एसिसी यु–१९ एलिट कपमा नेपाल अफगातिस्तानसँग पराजित भएको थियो । अहिले १० वर्षपछि नेपाललाई १९ वर्षमुनिको संरचनामा उपाधि जित्ने मौका छ । किनकी अहिले नेपाल रहेको क्षेत्रमा बलियो मानिएको अफगानिस्तान छैन ।

१९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिता आउँदो नोभेम्बरमा भारतमा हुँदैछ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा छनौट चरणबाट आएका चार टिम एसिया कप क्रिकेटमा खेल्ने छन् । पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रको फाइनलमा पुग्ने दुई दुई टिम एसिया कपका लागि छनौट हुने छन् ।

You May Also Like