मञ्जु खाँणलाई पार्टीले फलो गरेको छैन: कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा महतले सो कुरा बताएका हुन् ।

यो प्रकरणमा मुछिएपछि कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । बालकृष्ण पक्राउ परेपछि उनकी पत्नी मञ्जु प्रतिनिधि सभा बैठकमा देखिएकी छैनन् । पति बालकृष्ण खाँणलाई भेट्न गएको पनि देखिएको छैन ।

डा महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताए । ‘मञ्जु खाँण कहाँ हुनुहुन्छ पार्टीले फलो गरेको छैन,’ प्रवक्ता डा महतले भने, ‘दूधको दूध पानीको पानी आओस्। कांग्रेसले सहयोग गर्छ ।’

यो प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनिरहेको डा। महतले जानकारी गराए । ‘पार्टी सभापतिको मौनता छैन । निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनी भनिरहनु भएको छ । धेरै बोल्ने उहाँको बानी छैन,’ उनले भने ।

You May Also Like