बिद्युत नहुदा कोल्ड स्टोर सञ्चालनमा समस्या

सुर्खेत। विद्युत आपूर्ति नहुँदा कोल्ड स्टोर सञ्चालनमा बाधा पुगेको छ । पूर्वी सुर्खेतको भेरीगंगामा चिस्यान केन्द्र ९कोल्ड स्टोर० विद्युत अभावले सञ्चालन हुन नसकेको हो । तीन करोड लगानीमा उक्त कोल्ड स्टोर बनाइएको हो । आर्थिक वर्ष २०७३-०७४ देखि निर्माण सुरु गरिएको कोल्ड स्टोर आर्थिक वर्ष २०७७-०७८ बाट सञ्चालनमा ल्याइएको थियो । दुई सय मेट्रिकटन क्षमता रहेको कोल्ड स्टोर दुई वर्ष मात्र जेनतेन चल्यो । तर पछिल्लो समय सञ्चालन हुन सकेको छैन ।

विद्युत आपूर्ति सहज नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न समस्या भएको साना किसान कोल्ड स्टोरकी अध्यक्ष ज्ञानु भूसालले बताइन् । चिस्यान बनाउने मेसिन बिग्रेकाले कोल्ड स्टोरको काम रोकिएको उनको भनाइ छ । उनले भनिन्, ‘सञ्चालनमा आएको दुई वर्ष धौ–धौ सञ्चालन भएको थियो, अहिले मेसिन बिग्रेकाले सञ्चालनमा छैन ।’ कोल्ड स्टोर सञ्चालन गर्न विद्युत बाधक बनेको उनले बताइन् । भूषालले भनिन्, ‘कोल्ड स्टोर सञ्चालनमा आएसँगै किसानलाई सहज भएको थियो । सल्यानका किसानले समेत राहत पाएका थिए । स्टोरमा दुई सय मेट्रिकटन भण्डारण गर्ने क्षमता छ । विद्युत आपूर्ति सहज नहुँदा सञ्चालन गर्न समस्या भइरहेको छ ।’

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भेरीगंगा र गुर्भाकोट नगरपालिका, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजमएफपी), नारी नागरण बहुउद्देश्यीय कृषक समूह र साना किसान सहकारी संस्थाको लगानीमा उक्त कोल्ड स्टोर सञ्चालन गरिएको थियो ।

यस्तै रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका वडा नं १२ मा सञ्चालित कर्णाली डेबरेज चिस्यान केन्द्र ९कोल्ड स्टोर० सञ्चालनमा पनि कठिनाइ भएको छ । कर्णाली डेबरेज इन्डस्टीज प्रालिद्वारा सञ्चालित कोल्ड स्टोर चालु आर्थिक वर्षदेखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रालिको ५०÷५० प्रतिशत अनुदानमा कोल्ड स्टोर सञ्चालन गरिएको हो । मन्त्रालयको ५० लाख र प्रालिको ५० लाख लागतमा स्टोर सञ्चालन गरिएको छ । विद्युत नियमित नहुँदा स्टोरमा राखेको सुन्तला कुहिएर गएको प्रालिका सञ्चालक दलबहादुर शाहले बताए । उनका अनुसार स्टोरमा किवी र सुन्तला राखिएको थियो । उनी भन्छन्, ‘विद्युत नियमित नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न हम्मेहम्मे भइरहेको छ । जेनेटरबाट सम्भव छैन । किसानले राम्रो मूल्य पाउने आशमा स्टोरमा राख्छन् कुहिएर जान्छ ।’ स्टोरको क्षमता दुई सय मेट्रिक टनको रहेको छ । विद्युतका कारण स्टोर सञ्चालनमा समस्या भएको शाहीले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ठूला दुई सय मेट्रिक टन क्षमताका कर्णालीमा चार वटा कोल्ड स्टोर सञ्चालनमा गरिएको जनाएको छ । एक सय ३२ केभिए विद्युत प्रशारण लाइन नहुँदा सम्मका लागि मन्त्रालयले कोल्ड स्टोर नयाँ थप निर्माण नगर्ने भएको छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले विद्युत आपूर्ति सहज नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न नसकिने अवस्था रहेको जनाए । उनले भने, ‘प्रदेशमा ठूला कोल्ड स्टोर चार वटा छन् । नयाँ वीरेन्द्रनगरमा निर्माणको क्रममा छ । विद्युतको भोल्टेज नपुग्दा फलफूल तथा तरकारी कुहिने र किसानलाई लाभ हुनुभन्दा घाटा हुने गरेको छ ।’ मन्त्रालयले एक सय ३२ केभिए प्रशारण सुरु नहुँदासम्म नयाँ कोल्ड स्टोरका कार्यक्रममा अनुदान नदिने जनाएको छ ।

नौ जिल्लामा साना कोल्ड स्टोर

प्रदेशका नौ जिल्लामा दश मेट्रिक टन भण्डारण क्षमताका कोल्ड स्टोर निर्माण भएका छन् । हुम्ला जिल्लाबाहेक सबै जिल्लामा स्टोर निर्माण गरिएको छ । प्रत्येक जिल्लामा २० लाखका दरले जिल्ला कृषि विकास कार्यालयमार्फत जिल्ला–जिल्लामा कोल्ड स्टोर निर्माण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

विशेष गरेर स्याउलाई लक्षित गरेर मन्त्रालयले कम क्षमताको कोल्ड स्टोर निर्माण गरेको हो । फलफूल तथा तरकारी बेमौसम तथा मूल्य राम्रो बजार मूल्यमा बिक्री वितरण गर्ने उद्देश्यले कोल्ड स्टोरको स्थापना गरिएका हुन् । तर चिस्यान केन्द्र ९कोल्ड स्टोर० सञ्चालन गर्न विद्युत बाधक बनेको छ । विद्युतका भोल्टेज नपुग्दा स्टोरा राखिएका तरकारी तथा फलफूल सडने गल्ने गरेको छ । दुई सय मेट्रिक टनको चार वटा कलस्टमा छुट्टाछुट्टै रूपमा तरकारी राख्ने गरिन्छ । – यो समाचार साझा बिसौनी दैनिकमा प्रकाशित भएको छ ।

You May Also Like