बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी

रुपन्देही । बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी गरिएको छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले जेठ ६ र ७ गते सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमा देशभरका करिव १ सय पार्कबाट १५० देखि १६० जनासम्म सहभागी हुनेछन् । बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका०को संयोजनमा सम्मेलनको तयारी गरिएको सदस्य सचिव अनन्त सिलवालले जानकारी दिए ।

धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइटेलले बताए ।

पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरुको ठूलो महत्व भए पनि राज्यले कानूनी रुपमा कुनै सम्बोधन नगरेको सम्मेलनले कानुन निर्माणमा तीनै तहका सरकारलाई दबाब पुग्ने अपेक्षा गरिएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए ।

You May Also Like