मुगु हिमपात: १० फिट बाक्लो हिउँ जमेपछि बेपत्ताको खोजी कार्यमा कठिनाइ

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको च्यार्खुलेकमा गएको हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्यमा कठिनाइ भएको छ । करिब १० फिट बाक्लो हिउँ जमेकाले बेपत्ता भएका स्थानीयलाई खोज्न कठिन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत वैशाख २२ गते लुकिछिपी यार्चा खोज्न गएका जुम्ला पातारासी गाउँपालिका २ तल्फी गाउँका १५ जनामध्ये हिमपहिरोमा परेर तारासिंह सार्की र वीरबहादुर बोहोरा बेपत्ता भएपछि उद्धारका लागि जिल्लाबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी र जनपथ प्रहरी गरी २४ जनाको टोली च्यार्खुलेकमा गए पनि उक्त क्षेत्रमा करिब १० फिट बाक्लो हिउँ जमेको र माथिबाट हिमपहिरो निरन्तर खसिरहेकाले टोलीलाई उद्धार गर्न गाह्रो भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

घाम लागेर हिउँ नपग्लिँदासम्म हिमपहिरोमा परी बेपत्ता भएका जुम्लाका स्थानीयलाई पत्ता लगाउन नसकिने उनको भनाइ छ । हिमपहिरोमा बेपत्ता भएका स्थानीयको खोजी कार्यका लागि गएका सुरक्षाकर्मीहरूको हिउँको चिसोले मुख सुनिन थालेपछि केही दिनका लागि उद्धार कार्य रोक्नुपर्ने अवस्था आएको थापाले बताए ।

कार्मारोङ गाउँपालिकाले जेठ ४ गते यार्चा टिप्न स्थानीयलाई पाटन क्षेत्र जान अनुमति दिने निर्णय गरेको भए पनि प्रतिकूल मौसमले यार्चा क्षेत्रमा बाक्लो हिउँ जमेर यार्चा टिप्न जोखिम हुने भएपछि जेठ १० गतेसम्म रोक्ने निर्णय गरेको छ ।

वैशाख ११ गते घरबाट यार्सा टिप्न पाटनतिर निस्केका उनीहरु वैशाख २२ गते हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेर एक जनाको मृत्यु भएकोमा दुई जना अझै बेपत्ता रहेका छन् । पूर्णसिंह सार्कीको शव भेटिएकोमा तारासिंह सार्की र वीरबहादुर बोहोरा अझै बेपत्ता रहेका छन् । पूर्णसिंह र तारासिंह सार्की एकै घरका दाजुभाइ हुन्।

उनीहरुको घरबाट पाँच जना यार्सा टिप्न गएकोमा दुई जना हिमपहिरोमा बेपत्ता भएका थिए । पूर्णसिंह सार्की, तारासिंह सार्की, प्रकाश सार्की, हर्क सार्की र रमेश सार्की पाटन गएका थिए ।

You May Also Like