लिमीमा सामाजिक सुरक्षा भत्ता (फोटो कथा)

हुम्ला । चीनसँग सीमा जोडिएको हिमालपारीको गाउँ लिमीका स्थानीयले २२ महिनापछि सामाजिक सुरक्षा भत्ता पाएका छन् । नाम्खा गाउँपालिका–६ लिमीका तिल, हाल्जी र जाङ्ग तीन वटा गाउँका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले अघिल्लो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता २२ महिना पछि पाएका हुन् ।

नाम्खा गाउँपालिकाका कर्मचारी र बैंकका कर्मचारीको संयुक्त टोली गएर लिमीका २ सय जनालाई हातमै सामाजिक सुरक्षा भत्ता दिएको वडा ६ लिमीका वडा अध्यक्ष पालजोर तामाङले बताए ।

पहिला कर्मचारी लाभग्राहीको घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्थे र यसरी वितरण गर्दा सामाजिक सुरक्षा भत्तामै अनियमितता हुन थालेपछि सरकारले विद्युतीय भुक्तानी प्रणालीबाट सामाजिक सुरक्षा भत्ता सिधैं लाभग्राहीको बैंक खातामा जम्मा गर्ने नीति ल्याउँदा नाम्खा ६ का सेवाग्राहीले समयमा केवाईसी अपडेट नगरेका कारण आरव ०७८र०७९ मा पाउने सामाजिक सुरक्षा भत्ता २२ महिनापछि पाएका हुन् । तर हिमालपारीको गाउँबाट आफ्नो खाताको केवाईसी अपडेट गर्न आउन नसक्ने भएकाले बैंक र पालिकाका कर्मचारीले नगदै बोकेर गाउँमै गएर भत्ता दिएको वडा अध्यक्ष तामाङले बताए ।

गाउँपालिका केन्द्र याल्वाङबाट ३ जना सिटिजन्स बैंकका कर्मचारी, ३ जना गाउँपालिकाका कर्मचारी र ३ जना नेपाल प्रहरीसहितको टोली गाउँमै गएर ०७८ र ०७९ को सामाजिक सुरक्षा भत्ता वैशाख १३ गते कर्मचारीको टोलीले नाम्खा–६ लिमिका वडा अध्यक्षको रोहबरमा वितरण गरेको नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले बताए ।

पालिकाले लिमीका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको रकम उनीहरुको बैंक खातामा जम्मा भएपछि आ–आफ्नो भत्ता लिन पटक–पटक परिपत्र गर्दा पनि आउन नसक्ने बताएपछि सिटिजन्स बैंक र राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागसँग नगदै बाँड्ने अनुमति मागेर लिमीका तिल, जाङ र हल्जी तीन गाउँमा गएर नागरिकको हातहातमै भत्ता वितरण गरेको उनले बताए ।

कर्मचारीहरु कतै गाडी कतै घोडा त कतै पैदलै नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीमा पुगेका हुन् । लिमी पास ५ हजार मिटर अग्लो न्यालु लेकमा तीन फिटसम्म हिउँ जमेका कारण कर्मचारीलाई घोडाको व्यवस्था गरेर लिमी ल्याइएको वडाअध्यक्ष पाल्जोर तामाङले बताए ।

बैंकका कर्मचारीले एकै चोटी लिमीका लाभग्राहीले पाउने २२ महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् भने यही अवसरमा बैंक खाता नखोलेका लाभग्राहीको खातासमेत खोलिएको छ । कर्मचारी लिमीका तीनै गाउँमा पुगेर बैंक खाता सञ्चालन समेत गरेका छन् । लिमीका ज्येष्ठ नागरिक, विधवा, एकल महिला, अपांगता र बाल अनुदानको रकम २२ महिना पछि एकमुष्ठ घरमै बुझ्न पाउँदा लिमीबासी खुसी भएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले बताए ।

हेरौ केही तस्विहरुः

 

You May Also Like