कर्णाली करिडोरले थपेको खत्याडवासी उत्साह

राज बहादुर शाही
मुगु । मुगुको खत्याड गाउँपालिका कर्णाली करिडोरसँग जोडिएपछि खत्याडवासी उत्साहित भएका छन् ।सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदी बेलिब्रिज निर्माण भएर कर्णाली करिडोरमा गुड्ने गाडी अब खत्याड गाउँपालिकातिर चल्ने भएपछि खत्याडवासीको मुहारमा खुसी छाएको छ ।

कर्णाली नदीमा बेलिब्रिज पुल बनेपछि गाडी गाउँमै पुग्ने भएपछि खुसी छाएको सुकाढिक गाउँका ७४ वर्षीय धनलाल कार्कीले बताए । ‘अब सहरको मालसामान गाउँमै पुग्ने भयो,’ उनले भने, ‘हामीलाई सुर्खेत, नेपालगञ्ज आउजाउ गर्न पनि सहज भयो ।’ पुलको उद्घाटनका कर्णालीका पूर्वमुख्यमन्त्री तथा कालिकोटका सांसद महेन्द्रबहादुर शाहीले बिहीबार उद्घाटन गरेका हुन् ।

बेलिब्रिजले स्थानीय उत्पादनले बजार पाउने र स्थानीयको जीवनस्तरमा सुधार हुने आशा गरिएको उनको भनाइ छ ।

सुकाढिक झुगलमा निर्माण भएको बेलिब्रिजले पर्यटकलाई रारा भ्रमण गर्न सहज भएको छ । हिमपात र बर्खामा पनि उक्त सडक सञ्चालन हुने भएको बाह्रैमास पर्यटकलाई रारा घुम्न आउन सुविधा भएको छ । बेलिब्रिजले समग्र मुगुवासीको समृद्धिको ढोका खोलेको सांसद ऐनबहादुर शाहीको भनाइ छ ।

सुकाढिक झुगला बेलिब्रिजदेखि खत्याड बाउपानीसम्मको करिब २९ किलोमिटर सडक सुधार गर्न र खोलामा पुल निर्माण गर्न गाउँपालिकाले विशेष ध्यान दिनु पर्ने कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री मंगलबहादुर शाहीले जनाए । उनले भने, ,गमगढी खत्याड सडक जोडिने कार्यलाई पहिलो प्राथमिकता राखिएको छ ।’

६० मिटर लम्बाइको उक्त बेलिब्रिज निर्माणका लागि खत्याड गाउँपालिकाले ३ करोड ५९ लाख ९८ हजार बजेट छुट्याएको थियो भने पुल निर्माणका लागि चलप रबि चक्र जेभीले जिम्मा लिएको थियो ।

You May Also Like