पाँच दिनदेखि हिमपहिरोमा बेपत्ता दुई जनाको खोजिकार्य जारी

काठमाडौं । दार्चुलामा पाँच दिनअघि हिमपहिरोमा हराएका दुई जनाको अवस्था अझै अज्ञात रहेको छ । मंगलबार ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परेपनि दुई जनाको अवस्था अझै अज्ञात रहेको हो ।

दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार बुधबार फेला परेका तीन जनाको शव ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलङ्गा ल्याइएको थियो । हराइरहेका दुई जनाको खोजी कार्य जारी रहेको उनले बताइन् ।

दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव आफन्तले बुझिसकेका छन् ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ ।

You May Also Like