अख्तियार प्रमुख राईसम्म पनि रकम पुर्‍याएको आरोपीको बयान, प्रमाण जुटाउँदै प्रहरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका हाई प्रोफाइललाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । काठमाडौं प्रहरी परिसरले बुधबार सो प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलाई पक्राउ गर्‍यो ।

त्यसको एक दिनअघि मात्रै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो । हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पाण्डेलाई काठमाडौं प्रहरीको विशेष टोलीले भक्तपुरको पेप्सीकोलाबाट पक्राउ गरेको थियो । राईलाई प्रहरीले ललितपुरको ठेचोबाट पक्राउ गरेको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा मुछिएका पाण्डे उच्च तहका कर्मचारी हुन् । कर्मचारीबाहेक सो प्रकरणमा राजनीतिक व्यक्तिसमेत मुछिएका छन् । ठगी प्रकरणमा जोडिएको प्रमाण भेटिएपछि एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । रायमाझीका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले बधुबार साँझ नै बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

उनलाई थुनामा राख्ने अनुमति लिन काठमाडौं प्रहरीले अहिले अदालतमा पेस गर्ने तयारी गरेको छ । यसअघि प्रहरीले सो प्रकरणमा जोडिएका मोरङ पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी(४ का सानु भण्डारी र पाँचथर फिदिमका टंककुमार गुरुङ, मोरङ पथरी–१० का सागर राई र दाङका सन्देश शर्मा पोखरेललाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि प्रहरीले संगठित ठगी मुद्दामा अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीको अनुसन्धान सचिवसम्म पुगेको हो । आफूहरूलाई भुटानी बनाएर अमेरिका पुर्‍याउने भनेर ठगी गरेको भन्दै हालसम्म १ सय ५० जनाले प्रहरीमा जाहेरी दिएका छन् ।

प्रहरीको अनुसन्धानबाट उनीहरूले ५ सय जना नेपालीहरूलाई नक्कली भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर करिब १ अर्ब रुपैयाँ ठगी गरेको खुलेको छ । पाण्डे गृहसचिव हुँदा गृहमन्त्रीमा कांग्रेस नेता बालकृष्ण खाँण थिए । खाँणको समूहलाई समेत प्रभावमा पारेर ठगी गर्ने गिरोहले ठगी गरेको प्रहरीको दाबी छ ।

You May Also Like