सम्बन्धनको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालयमा तनाव

सुर्खेत । सम्बन्धनको विषयलाई लिएर यतिबेला मध्यपश्चिम विश्वविद्यालयमा विवाद बढ्दै गएको छ । केही समय अघि निजी कलेजलाई समेत सम्बन्धन दिने गरी सूचना प्रकाशित गरेपछि विद्यार्थी संगठन र प्राध्यापक संघ–संगठनहरु विरोधमा उत्रिएका हुन् ।

उपकुलपति प्रा।डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई निजीकरण गर्न खोजेको भन्दै केही दिन अघिदेखि विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । सोही विषयलाई लिएर उपकुलपति सिंहले मंगलबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

तर, उनको निवासमै विद्यार्थी नेताहरुको धर्ना जारी थियो भने प्रहरी तैनाथ गरिएको थियो । जसका कारण केही समय पत्रकारलाई समेत भित्र छिर्न दिइएन । पछि पत्रकारहरु गेटभित्र छिरे । करिब साढे १ घण्टा बोलेका सिंहले आफूले ऐन नियममै भएको व्यवस्थामा टेकेर सम्बन्धनको विज्ञापन खुलाएको दाबी गरे ।

सम्बन्धन दिने विषयमा केही सीमा रहेको र त्यसैको जगमा टेकेर सम्बन्धन दिइने उनको भनाइ थियो । तर, उनी आक्रोशित र चिन्तित पनि थिए । सिंहले आफू कर्णालीकै भएकाले कर्णालीको शैक्षिक उन्नतिकै लागि भनेर काम गरे पनि त्यसको जस पाउनुको सट्टा विरोध नै विरोध भइरहेको भन्दै गुनासो पोखे ।

अहिले विश्वविद्यालयस्थित उनको कार्यालयमा तालाबन्दी छ । उनी केही दिनदेखि कार्यालय प्रवेश गर्न पाइरहेका छैनन् भने सोमबार काठमाडौंबाट फर्किएका उनी निवासमै रहेको थाहा पाएपछि विद्यार्थी संगठनका नेताहरु त्यहीँ पुगेर धर्ना दिन थाले ।

सिंह भन्छन्, ‘म समाजवाद उन्मुख मान्छे हो । म संविधानको कुराभन्दा बाहिर गएको छैन । ऐनले दिएको व्यवस्थामा रहेर सम्बन्धन दिन लागिएको हो ।’

आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पक्षमा रहेको उनको भनाइ छ । उनले भने, ‘मैले आएदेखि नै यही अभियानका साथ विश्वविद्यालयको उन्नतिका लागि काम गरिरहेको छु । तर पनि सुख पाउन सकिएन ।’

आफू पैसा कमाउनका लागि नभई विश्वविद्यालयको उन्नति र शैक्षिक हब बनाउने उद्देश्यसहित आएको बताउँदै सिंहले आफूलाई ‘फेसबुके भिसी’ भनेर अपमान र तिरस्कार गरिरहेको सुनाए । उनले सम्पूर्ण राजनीतिक दलहरुलाई आफ्ना विद्यार्थी संगठनलाई सम्झाउन आग्रह गरे ।

You May Also Like