उपल्लो डोल्पामा हिमपातः जोखिममा बिकासे योजनाको अनुगमन र सेवा प्रदान

डोल्पा । उपल्लो डोल्पामा दुई दिनदेखि हिमपातले गर्दा जनजीवनमा असर पारेको छ । विकास निर्माणको अनुगमन तथा निरीक्षणका कामसमेत हिमपातमै सुरु भएका छन् । शे फोक्सुण्डो गाउँपालिकाले विभिन्न ठाउँमा शिविर तथा योजनाको अनुगमन हिमपात जारी रहदा पनि चालू राखेको छ । पालिकाभित्र आगामी आर्थिक वर्षका लागि बस्तीस्तरबाटै योजना छनोट तथा तर्जुमाका कामसमेत हिमपातसँगै चलिरहेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपानेले बताए । “हिउँ परे पनि काम गर्नुपर्ने बाध्यता छ”, उनले भने, “जीवन जोखिममा पारेर भए पनि काम गर्नुपर्ने बाध्यता छ।”

आजमात्र दुई कर्मचारी हिमपातमा काम गरेकै कारण बिरामी भएका छन् । अक्सिजनको मात्रा अत्यन्तै कम हुने भएकाले काम गर्न गाह्रो छ । एक बस्तीबाट अर्को बस्तीमा जान र आउन हिमाल नै पार गर्नुपर्ने भएकाले पनि मुस्किल हुने गरेको छ ।” गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङको नेतृत्वमा एक टोली परिचालन भएको छ, भने अर्को टोली उपाध्यक्ष पेम्मा वाङछेन गुरुङको नेतृत्वमा परिचालित भएर काम गरिरहेको अधिकृत न्यौपाने बताए ।

पालिकाभित्रका सबै ठाउँमा स्वास्थ्य शिविर, पञ्जीकरण सम्बन्धीकाम, योजनाको सार्वजानिक सुनुवाइ र विद्यालय अनुगमनका काम भइरहेको बताइएको छ । जाडो याममा हुन नसकेका सम्पूर्ण काम यही बेला गरिरहेको उनले उल्लेख गरे । यातायातको पहुँच नभएका कारण यहाँका सबै ठाउँमा हिँडेर जानुपर्ने अर्को बाध्यता छ । काममा खटिएका कर्मचारीदेखि जनप्रतिनिधिसम्मलाई फोन सम्पर्कसम्म गर्न मुस्किल भएको छ । काम गर्दागर्दै सिकिस्त बिरामी भएमा हेलिकोप्टरबाटसमेत उद्धार हुने गरेको छ ।

छरिरहेको साना–साना गाउँ भएकाले सबै ठाउँमा सेवा दिनका लागि बस्तीमा पुग्दा मुस्किल भएको अधिकृत न्यौपानेको भनाइ थियो । दुईदिनदेखि अधिकांश कर्मचारी र जनप्रतिनिधिसँग सञ्चार सम्पर्क नभएको पनि उनले बताए । लगातार हिमपातका कारण बाटो पुरिएकाले तोकिएको ठाउँमा जान समस्या भएको छ । गर्मी तथा चिसो मौसममा एकै खालको वातावरण हुँदा दैनिक यहाँका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । पालिकाको समग्र सेवाको प्रभाव वा गुनासा सुन्न गाउँ बस्तीमा पुग्नका लागि फलामको चिउरा चपाएझैँ भएको पालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए । पाँच हजार ६०० मिटर उचाइको कङ्लापास हिमाल पार गर्न नसक्दा केही समस्य आएको अध्यक्ष गुरुङले बताए ।

कस्तो शे फोक्सुण्डो गाउँपालिका?

साविकका साल्दाङ, भिजेर र शेफोक्सुण्डो गाविस मिलेर गठन भएको हालको शेफोक्सुण्डो गाउँपालिकाको नामाकरण ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभूमिसँग जोडिएको छ । साल्दाङ भू–भागस्थित ऐतिहासिक तथा धार्मिकस्थल शे गुम्बा र फोक्सुण्डो रिग्मो गाउँस्थित पर्यटकीयस्थल शेफोक्सुण्डो तालको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो ।

समुद्री सतहदेखि करिब दुई हजार तीसयदेखि सातहजार चारसय २५ मिटर उचाइमा अवस्थित यस गाउँपालिकाको पूर्वमा डोल्पो बुद्ध गाउँपालिका, दक्षिणमा त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका र काईके गाउँपालिका र पश्चिममा जगदुल्ला गाउँपालिका र मुगु जिल्ला पर्छन् भने उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको भूभाग अवस्थित छ ।

उच्च हिमाली क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भू–भाग हिमाल र डाँडापाखा र समथर घाँसे मैदान छ । शेफोक्सुण्डो राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने केही भूभागमा पहाडी क्षेत्रको विशेषता रहे पनि अधिकांश क्षेत्र उच्च हिमाल र सुख्खा क्षेत्र रहेको छ । यहाँ ठूलाठूला रुख र बोटबिरुवा नहुने भएकाले यस क्षेत्रमा अक्सिजन न्यून हुनाका साथै बर्षात्को कारण रापा, नाम्दो, किरथाङ, साल्दाङ, तिलिङ, निजाललगायत कटान भएका क्षेत्र भएकाले उक्त क्षेत्रका उब्जउ हुने भूभाग बगरमा परिणत हुँदै आएको छ ।

You May Also Like