कर्णालीमा चार मन्त्रीले लिए शपथ

सुर्खेत । नेपाली कांग्रेस पार्टी केन्द्रको आन्तरिक विवादका कारण बुधबार रोकिएको कर्णाली मन्त्रिपरिषद् विस्तार बिहीबार भएको छ । मुख्यमन्त्री रामकुमार शर्माले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै चार मन्त्री थपेका हुन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुखबाट शपथग्रहण गरेका छन् ।

मंगलबार नेपाली कांग्रेसबाट सिफारिस भएका तीन र माओवादीबाट यसअघि भौतिक पूर्वाधार, ऊर्जा राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष मन्त्री पदको शपथ लिए । नवनियुक्त मन्त्रीले शपथ लिएसँगै प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेस सरकारमा सहभागी भएको छ ।

बुधबार हुने भनिएको शपथ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जाजरकोट प्रदेशसभा ‘ख’बाट निर्वाचित राजीवविक्रम शाहले पार्टीको मर्यादाक्रमविपरीत मन्त्री सिफारिस गरिएको भन्दै असन्तुष्टि जनाएपछि पार्टी केन्द्रको हस्तक्षेप गरेको थियो । यद्यपि पार्टी केन्द्रको हस्तक्षेप भए पनि बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँगको छलफलपछि सिफारिस भएका तीनै जनाले शपथ लिएका हुन् ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार मंगलबार कांग्रेसले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकासमन्त्री, जाजरकोट प्रेदशसभा ‘क’बाट निर्वाचित वेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ख बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिममेवारीसहित सरकारमा पठाउने गरी मुख्यमन्त्री राजकुमार शर्मासमक्ष नाम सिफारिस गरेको थियो ।

गत पुष २७ गते नेकपा एमाले र माओबादीबीच भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय एउटै बनाउने निर्णय भएको थियो । तर, मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालय फुटाएर भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्रालय र ऊर्जा तथा जलसोत मन्त्रालय बनाउने निर्णय भएपछि उर्मिला विकले ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित शपथ लिएकी हुन् ।

You May Also Like